काठमाडौं, असार २४ । दुई वर्षअघि आएको बहुचर्चित गीत ‘सोचे झैं जिन्दगी रैनछ’ की गायिका मधु क्षेत्रीको जिन्दगीले नयाँ मोड लिएको छ । मधुले हालै विवाह गरेकी छन् ।
अष्ट्रेलियामा बसोबास गर्ने प्रेमी सुरेश खड्कासँग विवाह गरेकी हुन । प्रेमीसँग मधुले केही दिनअघि कुनै समारोहविना कोर्ट म्यारिज गरेकी हुन् । यो उनको दोस्रो विवाह हो । पहिलो श्रीमानसँग सम्बन्धविच्छेद भएपछि उनी एकल जीवन बिताउँदै आएकी थिइन् । मधुकी १७ वर्षीया एक छोरी पनि छिन ।
दोस्रो विवाहसँगै मधुले संगीत क्षेत्रसँग ‘सम्बन्धविच्छेद’ गर्ने भएकी छन् । चाँडै अष्ट्रेलिया गएर श्रीमानसँगै आनन्दको जीवन बिताउने उनको तयारी छ । मधुले एक अन्तर्वार्तामा भनेकी छन्, ‘हो, मैले अब संगीत क्षेत्रलाई छोडेँ । दुईवटा नाउँमा खुट्टा राख्दा डुबिन्छ । यहाँका यादहरु बोकेर विदेश जाँदैछु ।’
विदेशिनुअघि अन्तिमपटक आफ्नो श्रीमान र परिवारसहित राखेर अन्तिम गीत गाउने इच्छा उनले व्यक्त गरिन् । ‘मलाई लोकसंगीतले धेरै चिज दिएको छ । दोहोरी क्षेत्रमा लागेर नै छोरीलाई १७ वर्षकी बनाएँ । अब मेरो सांगीतिक यात्रा टुंगियो’, उनले भनिन् ।
उनले एकल महिलाहरुलाई हेर्ने समाजको दृष्टिकोण अझै राम्रो नभएकाले पुरुषको सहारा चाहिने पनि बताएकी छन् ।‘एकल महिला भन्नेबित्तिकै फरक दृष्टिकोणले हेरिन्छ । तर म एउटा डिभोर्सी र १७ वर्षीया छोरीकी आमालाई उहाँले श्रीमतीका लागि स्वीकार्नुभयो । यो मेरो लागि धेरै ठूलो कुरा हो । मैले भगवान जस्तै श्रीमान पाएकी छु’, मधुले भनेकी छन ।
प्रतिक्रिया दिनुहोस्