जनता टाइम्स

२६ असार २०७९, आईतवार १३:३५

कन्जरभेटिभ पार्टी नेतृत्वका लागि आधा दर्जनभन्दा बढी नेता आकांक्षी


लन्डन, २६ असार । बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टी नेतृत्वका लागि आधा दर्जनभन्दा बढी नेता आकांक्षी बनेका छन् । जोनसनलाई विस्थापित गर्ने दौडमा दुई जना पूर्वस्वास्थ्यमन्त्री–साजिद जाविद र जेरेमी हन्ट पनि कन्जरभेटिभ पार्टी नेतृत्व सम्हाल्ने र प्रधानमन्त्री बन्ने दौडमा आकांक्षा देखाउँदै हुनुहुन्छ । पार्टी नेतृत्वका लागि आकांक्षा राख्ने उहाँहरू पछिल्ला दुई नेता हो ।

दुबैले आफ्ना योजनाहरू घोषणा गर्नुभएको छ । आफू एकमात्र प्रमुख उम्मेद्वार भएको हन्टले जोड दिनुभएको छ । उहाँले जोनसन मन्त्रिपरिषद्मा काम भने गर्नुभएको छैन । यसअघि ६ जनाले आफ्नो आकांक्षा देखाएका थिए ।प्रधानमन्त्रीका सबै दाबेदारको मुख्य मुद्दा कर बनेको छ । जाभिद र हन्टले कर कटौतीका लागि आह्वान गर्नुभएको छ ।

जाविदले राष्ट्रिय बीमामा वृद्धि रद्द गर्ने वाचा गर्दै आउनुभएको छ । प्रधानमन्त्रीको दौडमा कुलपति नदिम जाहावी र यातायातमन्त्री ग्रान्ट साप्स हुनुहुन्छ । दुबैले कर कटौती गर्ने वाचा गर्नुभएको छ । यतिबेला कर बृद्धि गरेको आरोपमा पूर्वमन्त्री ऋषि सुनाकको आलोचना भइरहेको छ । त्यस्तै, न्यून कर राज्यको आह्वान गर्ने महान्यायाधिवक्ता सुएला ब्रेभरम्यानले पनि अभियान सुरु गर्नुभएको छ ।

विदेशमन्त्री लिज ट्रस पनि प्रधानमन्त्रीको दौडमा रहेको उहाँका सहयोगीले बताउनुभयो । सुनकले ल्याएको स्वास्थ्य कर उल्टाउने वाचा गर्नुभएको छ । त्यस्तै, पूर्व समानतामन्त्री केमी बडेच र विदेश मामिला समितिका अध्यक्ष टम टुगेनधाट पनि जोनसनलाई विस्थापित गर्ने दौडमा हुनुहुन्छ । पार्टीको नेतामा विजयी भएका व्यक्ति प्रधानमन्त्री हुनेछन् ।