जनता टाइम्स

२६ असार २०७९, आईतवार १७:३४

प्रकाशमा फेरिएका प्रदीप खड्का


काठमाडौं, २६ असार । अभिनेता प्रदीप खड्का भन्नासाथ जोकोहीलाई उहाँको चकलेटी अनुहार र अभिनयको सम्झना आउँछ । प्रेमकथाका फिल्ममा चकलेटी लुक्स र अभिनयबाट दर्शकको मन जित्न सफल प्रदीप फिल्म ‘प्रकाश’मा पहिलोपटक कर्णालीको जुम्लाको युवाको भूमिकामा देखिँदैछन् । यो फिल्म प्रदीपका लागि किन पनि भिन्न छ भने उहाँ फिल्ममा शिक्षक बन्ने सपना बोकेको गाउँले चरित्रमा देखिँदै हुनुहुन्छ ।

फिल्म आगामी १० भदौमा रिलिज हुँदैछ । फिल्म युनिटले आज सार्वजनिक गरेको प्रदीपको दुई तस्वीरमा यो कुरालाई प्रष्ट्याएको छ । फिल्मका निर्देशक दिनेश राउत फिल्ममार्फत प्रदीपले आम नेपाली युवाहरुको प्रतिनिधित्व गर्ने दाबी गर्नुहुन्छ । त्यही दाबीलाई पुष्टि गर्न उनका दुई तस्बिर सार्वजनिक गरिएको उहाँको भनाइ छ ।

फस्टलुकमा अभिनेता प्रदीपलाई हलो जोतिरहेको देख्न सकिन्छ । उहाँले ट्राउजर र सर्ट लगाउनुभएको छ । फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दिपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।