जनता टाइम्स

५ श्रावण २०७६, आईतवार ०९:१७

नेकपाको विभागमा पठाउने नेताको छनौट गर्न पूर्वमाओवादी पक्ष छलफलमा


काठमाडौं, साउन ५

नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रियालाई टुंग्याउन आफ्नो भागमा परेका विभाग, आयोग र त्यसमा रहने सदस्यका विषयमा सहमति जुटाउन पूर्वमाओवादी पक्षका नेताहरु छलफलमा जुटेका छन् ।

खुमलटारस्थित प्रचण्ड निवासमा आज विहानबाट भएको छलफलमा कसलाई कुन विभाग र आयोगमा पठाउने भन्ने बारेमा छलफल भईरहेको नेताहरुले जानकारी दिनुभएको छ । सचिवालय बैठक बस्नुअघि आफ्नो पक्षबाट पठाइने नेताहरुको नाम टुंगो लगाउने बताइएको छ । सबैभन्दा विमित देखिएको स्कुल विभागमा के गर्ने भन्नेबारेमा पनि छलफल भईरहेको छ । भागबण्डामा पूर्व एमालेको भागमा परेपनि पूर्व माओवादीले सो विभाग आफुले पाउनुपर्ने दावी गर्दै आएको छ । त्यसमा पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले दावी गर्दै आईरहनु भएको छ । यद्यपी उहालाई प्रचार तथा प्रकाशन विभाग दिइने तयारी भईरहेको छ ।

३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ पूर्व माओवादीले लिने गरी भागवण्डाको सहमति भइसकेको छ। पूर्व एमालेतर्फकाले बिहीबार साँझ, शुक्रबार र शनिबार आफ्नो पूर्ववत समूहमा छलफल गरेर नाम टुंगो लगाईसकेका छन् । पूर्व एमालेले पाएको संगठन विभागमा वामदेव गौतम, विदेशमा माधव नेपाल, नीति अध्ययनमा झलनाथ खनाल र स्कुल विभागमा इश्वर पोखरेललाई लैजाने सहमति भएको छ।