जनता टाइम्स

२९ असार २०७९, बुधबार २२:०७

माल्याका छोरीहरू पनि विवादमा तानिए, ४ करोड डलर भुक्तान गर्न आदेश


काठमाडौं, २९ असार । अदालतको फैसलाको अवज्ञा गरेको आरोपमा मदिरा व्यापारी विजय माल्यालाई भारतको सर्वोच्च अदालतले गत सोमबार ४ महिनाको जेल सजाय र २ हजार रुपैयाँ थप जरिवाना तोकेको छ। अदालतको पूर्ण इजलासले भनेको छ, ‘माल्यालाई आफूले गरेको अपराधमा कुनै पछुतो छैन।’

जरिवाना नबुझाएको खण्डमा उहाँलाई थप २ महिनाको सजाय हुनेछ। माल्यालाई ४ साताभित्र ८ प्रतिशत ब्याज दरको हिसाबले ४ करोड डलर अर्थात ३ सय १७ करोड रुपैयाँ फिर्ता गर्न भनिएको छ। माल्याले यो रकम आफ्नो तीन छोराछोरीको अकाउन्टमा ट्रान्सफर गर्नुभएको थियो । माल्यामाथि तथ्य लुकाएको र कर्नाटक उच्च अदालतको आदेश उल्लंघन गरेको आरोप छ। बैंकको आरोप थियो कि, उहाँले बेलायतको एउटा अफसोर कम्पनी डियाजियोमार्फत ४ करोड डलर प्राप्त गर्नुभएको थियो। जुन पैसा उहाँले आफ्ना तीन छोराछोरीको अकाउन्टमा ट्रान्सफर गर्नुभएको थियो। आरोप पत्रमा भनिएको छ, उहाँले आफ्नो छोरा सिद्धार्थ माल्या, छोरीहरू लिना माल्या र तान्या माल्याको अकाउन्टमा १ करोड ३० लाख डलरको हिसाबले रकम ट्रान्सफर गर्नुभएको छ । सर्वोच्चका अनुसार माल्याका तीन जनै केटाकेटीले ८ प्रतिशत ब्याज दरसहित ४ करोड डलर एक महिनाभित्र बैकमा दाखिला गरिसक्नुपर्ने बताइएको छ। छोरीहरू लिना र तान्याले मात्र एक महिनामा ८ प्रतिशत व्याज दरको हिसाबले २ सय ११ करोड ३३ लाख रुपैयाँ जम्मा गर्नुपर्ने छ।

तोकिएको अवधिमा पैसा भुक्तान नभए छोरीहरूकै सम्पत्तिबाट असुलउपर गर्न अदालतले आदेश दिएको छ। विजय माल्याको पहिलो बिहे समिरासँग भएको थियो। पहिलो श्रीमतीबाट छोरा सिद्धार्थको जन्म भएको थियो। सिद्धार्थको जन्म भएको केही वर्षमै माल्याको समिरासँग पारपाचुके भएको थियो। यसको केही वर्षपछि माल्याले बेङ्लुरुस्थित आफ्नै छिमेकी रेखासँग बिहे गर्नुभएको थियो । रेखाबाट उहाँलाई लिना र तान्याको नाममा दुई छोरी प्राप्त भयो। तान्यालाई फोटोग्राफीमा सौख छ। २०१३ मा डिजिटल फोटोग्राफीको अध्ययनका लागि उनी पेरिसस्थित ‘नेशनल ज्योग्राफिक स्टुडेन्ट एक्सपिडिसन’ मा सहभागी भएकी थिइन। सन् २०१० को सेप्टेम्बरमा उनी पहिलो पल्ट विवादमा तानिनुभएको थियो । जब पिता विजय माल्याले उहाँका लागि अमेरिकामा ३६ तले ट्रम्प प्लाजामा पेन्टहाउस खरिद गर्नूभएको थियो। जसको मूल्य १ करोड डलर पर्छ।

उनले ४६ लाख डलर सुरुमा डिपोजिट गरे पनि बाँकीको पैसा चुक्ता गर्नुभएन। न्युयोर्क डिपार्टमेन्ट अफ फाइनान्सको दस्तावेज अनुसार यसै कारण तान्याले पेन्टहाउस छोड्नु परेको थियो। अर्की छोरी लिना माल्या व्यापारमा संलग्न हुनुहन्छ। उहाँले अमेरिकी नागरिकता लिनुभएको छ भने सान फ्रान्सिस्कोमा बसोबास गर्नुहुनछ ।

यी दुईबाहेक पनि विजय माल्याको एउटा छोरी छिन्, लैला। जो माल्याको दोस्रो श्रीमती रेखाको पहिलो श्रीमानबाट जन्मिए। उहाँलाई पछि माल्याले आफ्नो नाम दिनुभएको थियो । लैलाको बिहे इन्डोनेसियाको बालीस्थित एउटा रिसोर्टका मालिक समर सिंहसँग भइसकेको छ।
लैलाको नाम इन्डियन प्रिमियर लिग (आइपीएल) का पूर्व कमिसनर ललित मोदीसँग जोडिएको थियो। उहाँ ललितसँग काम गर्नुहुन्थ्यो सन् २०१० मा मोदीको घरमा आयकर विभागले छापा हान्दा एक महिला कागजात बोकेर मोदीको घर पुग्नुभएको थियो। पछि ती महिलाको पहिचान लैलाको नामबाट भएको थियो।