रुपन्देही, २९ असार । विवेकशील साझा कतारका संयोजक गणेश कार्की नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । दोहास्थित ओसिस बिच होटेलको सभा हलमा एमाले निकट प्रवासी नेपाली मञ्च कतारको छैटौँ अधिवेशनको क्रममा विवेकशील साझा परित्याग गरी आधिकारिक रूपमा मञ्च प्रवेश गर्नुभएको हो।
उहाँलाई एमालेका महासचिव शंकर पोख्रेलले एमालेमा स्वागत गरेको अध्यक्ष चानख पोखरेलले जानकारी दिनुभयो । २०१७ मा रवीन्द्र मिश्रद्वारा वैकल्पिक रूपमा स्थापित साझा मार्फत सदस्यता लिएका कार्की पार्टी एकतापछि विवेकशील साझा हुँदै स्थापनाकालबाटै निरन्तर सङ्घर्ष गरी देश रूपान्तरणका लागि वैदेशिक भूमिबाट परिवारलाई भन्दा पनि बढी समय पार्टीलाई दिएर लाग्नुभएको थियो । कार्की सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका वडा नं. ३ नडाहाका हुनुहुन्छ ।
कतारमा विभिन्न पदीय जिम्मेवारी समाल्दै २०१९ बाट कतारको नेतृत्व सम्हालेका कार्कीले आफ्नो कार्यकालमा कतारमा स्थापित विभिन्न सङ्घ-संस्थादेखि नेपाली दुतवाससंग पनि उति नै नजिक रही सङ्गठनलाई कतारमा परिचित गराउनुका साथै सामाजिक कार्यमा संलग्न हुनुहुन्छ ।
सङ्गठन प्रवेश पश्चात आफ्नो मन्तब्य राख्ने क्रममा कार्कीले विवेकशील साझाले माथिल्लो नेतृत्व र केन्द्रीय समितिका कारण निरन्तर टुट,फुट र ईगोका कारण अन्ततः पूर्ण रूपमा उठ्नै नसक्ने गरी विवेकशील साझा सकिएको जिकिर गर्दै देश रूपान्तरणमा एमालेको विकल्प नभएको बताउनुभयो । साथै नेपालमा मात्र २ पार्टीको आवश्यक्ता रहेको बताएका कार्कीले निरन्तर एमालेमा रहेर आफुले सक्ने योगदान गर्ने प्रतिवद्दता समेत व्यक्त गर्नुभएको थियो। कार्यक्रममा कार्की सङ्गै अन्तर्राष्ट्रिय रोल्पा सेवा समाजका अध्यक्ष दीपेन्द्र डिसि लगायतका मञ्च प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्