जनता टाइम्स

१ श्रावण २०७९, आईतवार १५:५७

एनआरएनएद्वारा शंखमूल पार्कमा सरसफाई कार्यक्रम सम्पन्न


काठमाडौं, १ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको ललितपुर स्थित शंखमूल पार्कमा आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पूर्वमुख्यसचिव लीलामणि पौड्याल, ललितपुर महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजु महर्जन, गैरआवासीय नेपाली संङ्घका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष बद्री केसी लगायतको उपस्थिती रहेको थियो ।

सरसफाइ पश्चात शुभकामना मन्तव्य दिदै अध्यक्ष डा. बद्री केसीले ललितपुरबासीप्रति आभार प्रकट गर्नुभएको थियो । ललितपुर महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजु महर्जनले विगत तीन वर्षदेखि गैरआवासीय नेपाली संघले बनाएको पार्कको संरक्षणको जिम्मा वडा नम्बर ९ ले गर्दै आएको र आफ्नो स्रोत साधनले भ्याएसम्म संरक्षण गरिरहने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले शंखमूल पार्क स्तरोन्तिका साथै शौचालयको लागि महानगरपालिकाबाट दुई करोड बजेट पास भइसकेको जानकारी दिनुभएको थियो ।

पूर्वमुख्यसचिव लिलामणी पौड्यालले पार्क बनाउन सहयोग गर्ने गैरआवासीय नेपाली संङ्घका पदाधिकारीलाई धन्यबाद दिनुभएको थियो । गैरआवासीय नेपाली संघले तत्कालीन उपाध्यक्ष कुल आचार्यको संयोजकत्वमा करिब ३२ रोपनी जग्गामा निर्माण गरेको उक्त पार्क ३ करोड २ लाख ५९ हजार १५५ रुपैयाँमा निर्माण भएको थियो ।