जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार ११:५५

गुल्मी पहिरो अपडेट : मृतकको पहिचान खुल्यो, उद्धारकार्य जारी


गुल्मी, साउन ७

अविरल वर्षासँगै आएको पहिरोले ९ जनाको मृत्यु भएपछि गुल्मीको सत्यवती गाउँपालिका शोकमा डुबेको छ । गाउँपालिकामा अहिले सन्त्रासको वातावरण छाएको छ ।

सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ४ जनालाई अझै भेटाउन सकिएको छैन । सत्यवती गाउँपालिका–३ को दाङसिंगाको कसिङथलामा आमा र छोराको मृत्यु हुँदा सिङदीमा २ जना बेपत्ता भएका छन् । ठूलोलुम्पेकको कसिङथलामा स्थानीय ३० वर्षीय तिलकुमारी तरामुको घर पहिरोमा पुरिदा उनिसहित उनका १० वर्षीय छोरा दर्शनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोही घरबाट २ जनालाई सकुशल उद्दार गरिएको छ।

सत्यवती–४ भिरकुनामा स्थानीय छलि विक, चन्द्र बहादुर विक र धन बहादुर विकको घर पुरिएको छ । पहिरोमा घर पुरिँदा ७० वर्षीय छलि विक, ३२ वर्षीया निर्मला विक, २९ वर्षी पम्झा विक, १२ वर्षी अञ्जली विक, ९ वर्षीय तारा विक, ९ वर्षकी सिवानी विक, ५ वर्षीय हिमांशु विक र नाम नखुलेका १ वर्षी बालक गरी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिङदीमा पहिरोले घर पुरिँदा माया विक र उनका १७ वर्षीय बवी विक बेपत्ता भएका छन् ।  भिरकुनाका मनबहादुर विक, कालु विक, छलि विक र चन्द्रे विक लगायत दर्जन बढी घरमा पहिरोले क्षति पुगेको छ । ४ जना पहिरोमा बेपत्ता छन् । बिहान ३ बजेपछि ठूलो पानी परेको थियो। अहिले पनि लेदो माटोसहित पहिरो खस्ने क्रम नरोकिएको स्थानीयले जानकारी दिएका छन् ।