जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार १३:३३

पहिरोले पुरिएर ज्यान गुमाएका ११ जनाको शव भेटियो, दुई जना बेपत्ता


गुल्मी, साउन ७ । गुल्मीमा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । पहिरोले पुरिएर चार जना बेपत्ता भएका छन । गुल्मीको सत्यावती गाउँपालिकाकाको २ वटा वडामा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पुष्टि गर्नुभयो ।

पहिरोले पुरिएर सत्यावती गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका नौं जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ६५ वर्षीय छल्ली बिक, २८ पम्फा १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक, सन्दीप बिक रहेका छन् । त्यस्तै सोही गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीया तिलकुमारी तरामु, नौं वर्षीय दर्शन तरामुको मृत्यु भएको हो । मृतकद्वय आमा छोरा हुन् ।

पहिरोले सोही वडामा रुद्र बिकको घर बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षीय माया बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् । अन्य दुई जनाको नाम खुल्न सकेको छैन । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवाती ४ का १० वर्षीय करिश्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जनाएका छन् । गएरातिदेखि परेको अबिरल वर्षातले घरमाथिबाट पहिरो जाँदा घरमा सुतिरहेका सवैको मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार अहिले प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रायमाझी सहितको टोली घटना स्थल पुगेर उद्धार कार्य सुरु गरेको छ । थप राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ । ठूलो पहरो भएकाले मृत्यु हुनेहरुको संख्या बृद्धि हुनसक्ने प्रहरीको आशंका छ । पहिरोले दुई ओटा ओडाको ११ जनाको ज्यान लिएपछि सो गाउँ शोकमा डुबेको छ ।