जनता टाइम्स

८ श्रावण २०७६, बुधबार ११:२४

बबई नदीले बगाएका तीनै जनाको जिवितै उद्दार


बर्दिया, साउन ८

बर्दियाको खुन्तिपुरमा बाढीले बगाएर ल्याएको काठ लिन जाँदा बबई नदीले बगाएको तीन जनाको जिवितै उद्धार गरिएको छ ।

बिहान बाढीले बगाएका तीन जनामध्ये एक जनाको तत्कालै उद्दार गरिएपनि बाँकी दुई जनालाई भने बगाएको थियो । उनिहरुलाई ३ किलोमिटर टाढा दक्षिण गुलरिया बालापुरको विपद उद्दार टोलीले जिवितै उद्दार गरेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । बारबर्दिया नगरपालिका—११ खुन्तीपुरका ३५ वर्षीय बलिराम चौधरी र ठाँउका ३८ वर्षीय रामभरोस चौधरीलाई उद्धार गरिएको हो । केन्द्रले बाढी आएको बेला दाउरा लिन तथा माछा मार्न नजान अपील पनि गरेको छ ।

मंगलबार देखिको अविरल वर्षाले बासगढी नगरपालिका—३ खल्ला बस्तीका ४० घर डुबानमा परेका छन् । डुबानले मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाएको छ । वर्षाका कारण बर्दियाबाट बग्ने बबई नदीमा जलस्तर बढ्दै गएको छ। जलस्तर बढ्दै जाँदा तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन्। बबईको जलस्तर बुधबार बिहान ७ बजेसम्म ५ दशमलव १४ पुगेको छ। बबईमा जलस्तर ६ पुगे बाढी आउने गर्छ।