जनता टाइम्स

८ श्रावण २०७६, बुधबार ११:५५

भीमसेन थापाको सम्मानमा सार्वजनिक बिदा


गोरखा, साउन ८ । भीमसेन थापा गाउँपालिकाले भोलि साउन ९ गते परेको राष्ट्रिय विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको बैठकले मुलुकमा महत्वपुर्ण योगदान गर्नुभएका भीमसेन थापाको जन्मजयन्तीका दिन गाउँपालिका भित्रका सरकारी कार्यालय र विद्यालयलाई बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेका अनुसार कार्यपालिकाले थापाको पुर्ख्यौली घर भएको स्थल भीमसेन थापा गाउँपालिका वडा नं ८ चण्डीथानमा औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको छ । थापाको नामबाट गाउँपालिकाको नाम राखिएकाले उहाको घर भएको ठाउँ विकासका लागि भीमसेन थापा स्मारक निर्माण गर्ने लक्ष्य राखेको अध्यक्ष पाण्डेले बताउनुभयो । सालिक राख्ने, सो घरलाई घेराबार पर्खाल लगाउने, पार्क बनाउने लगायतका योजना गाउँपालिकाको रहेको उहाँको भनाई छ ।

साउन ९ गते नै भीमसेन थापाको जन्मस्थल भनेर चिनिएको गोरखा नगरपलिका ४ मा पिपलथोकमा पनि कार्यक्रम हुने भएको छ। वडा नं ४ को कार्यालयको आयोजनामा औपचारिक कार्यक्रम गरिने वडाध्यक्ष रामशरण अधिकारीले जानकारी दिनुभयो। पिपलथोकमा गोरखा नगरपालिकाले भीमसेन थापाको सालिकसहित भीमसेन पार्क निर्माण गरेको छ।