जनता टाइम्स

८ श्रावण २०७६, बुधबार १४:३९

तमोर नदीमा बगेर धनकुटाका एकै घरका तीन बालबालिका बेपत्ता


धनकुटा, साउन ८ । धनकुटामा तमोरनदीले बगाउँदा एकै घरका तीन जना बालबालिका बेपत्ता भएका छन । धनकुटा नगरपालिका ८ डाँडाटोलका शंखबहादुर राईका ९ वर्षीय छोरा सदिप राई ७ वर्षीया छोरी सलिना र ६ वर्षीया संजिला राई तमोर नदीले बगाउँदा बेपत्ता भएका हुन् ।

गत आइतबार दिउँसो ३ बजे बाबु शंखबहादुरसँगै खेतमा काम गरिरहेको समयमा तमोर नदीमा बगेर उनीहरु बेपत्ता भएका थिए । धनकुटा प्रहरीका अनुसार आमाबुवासँगै खेतमा काम गरिहरका उनीहरुमध्ये एक जनालाई तामोर नदीले बगाएको थियो । बगेकालाई बचाउने क्रममा अन्य दुई जना पनि बगेर बेपत्ता भएका हुन ।

नदीले तीन जना बालबालिकाहरुलाई बगाएपछि गाउँलेहरु मिलेर दुई दिनसम्म खोजी गरेका थिए । तर फेला नपरेपछि आज बिहान उनीहरुले खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा खबर गरेका थिए । प्रहरीले यो समाचार तयार पार्दासम्म बेपत्ता बालबालिका फेला पार्न सकेको छैन ।