एजेन्सी, साउन २२ । रुस र युक्रेनबीच युद्ध जारी छ । यो युद्धमा लाखौं मानिस घरबारविहीन भएका छन् । तर यसैबीच अर्को चिन्ताजनक खबर बाहिरिएको छ ।
रक्षा विज्ञहरूले युक्रेनी युवती र बालबालिकालाई यौन दासत्व र दासताका लागि संयुक्त अरब इमिरेट्समा तस्करी भइरहेको खुलासा गरेका छन् । फेब्रुअरीमा रुसको आक्रमणपछि लाखौं मानिसले आफ्नो घर छाडेका छन् । यस्तो अवस्थामा शरणार्थीको तस्करीको चिन्ता बढेको छ ।
जानकारीका अनुसार पोल्याण्डका शरणार्थी शिविरमा केही व्यक्तिलाई निशाना बनाइँदैछ । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले विगत पाँच महिनामा झण्डै दुई लाख बालबालिका बेपत्ता भएको आशंका गर्नु भएको छ । वासिङ्टन इन्स्टिच्युट फर डिफेन्स एन्ड सेक्युरिटी र न्यूयोर्क सेन्टर फर फॉरेन पोलिसी अफेयर्सको नयाँ प्रतिवेदनले हराएका युवती र बालबालिकालाई युएईमा बेचबिखन गरेको खुलासा गरेको छ।
अन्वेषकहरू भन्छन् धेरै रूसी धनाढ्यहरूले अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट बच्न खाडी देशहरूमा शरण मागेका छन् र उनीहरूलाई रूसी भाषा जान्ने कर्मचारीहरू चाहिएको छ । तर, युएईमा मानव बेचबिखनको यो विषय नयाँ भने होइन । तर शरणार्थीहरूको पलायनसँगै यो झन् बढेको छ। प्रतिवेदनका लेखक फ्लोरियन स्मिट्जले विकसित देशहरूलाई यस विषयमा आँखा नचिम्लन आग्रह गरेका छन् ।
रिपोर्टले आधुनिक दासत्वको बारेमा बताउँछ
यस रिपोर्टको उद्देश्य आधुनिक दासत्व र आप्रवासी कामदारहरूको दुर्व्यवहारमा प्रकाश पार्नु रहेको डेली मेलले भनेको छ । यसले युएई कसरी मानव बेचबिखनको अत्याधुनिक केन्द्रको रूपमा विकास भइरहेको छ भन्ने पूर्वी युरोपेली देशहरूको ध्यानाकर्षण गराउनुमा केन्द्रित छ ।
युद्धको सुरुदेखि नै महिला र बालबालिकालाई निशाना बनाइएको थियो । यस प्रतिवेदनमा दुबई जस्ता ठाउँका धनीहरूको ऐयासी जीवनशैलीलाई ‘प्रचारको मोह’ को संज्ञा दिंदै निन्दा गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्