जनता टाइम्स

२३ श्रावण २०७९, सोमबार १४:५१

आर्यन सिग्देल ‘सायरा’ मा अनुबन्धित, ९० प्रतिशत छायांकन अस्ट्रेलियामा


काठमाडौं, २३ साउन । अभिनेता आर्यन सिग्देल नयाँ फिल्म ‘सायरा’मा अनुबन्धित हुनुभएको छ । आर्यनले हिजो फिल्म निर्माण कम्पनी डि.बि.आर मिडिया एन्ड मुभिजसँग फिल्म गर्ने लिखित सम्झौता गर्नुभएको हो । रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ ।

आर्यनले सुहाउँदो क्यारेक्टर पाएपछि फिल्म गर्ने सम्झौता गरेको बताउनुभयो । आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म को ९० प्रतिशत छायांकन अस्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । फिल्मका प्रस्तुतकर्ता रघुले दसैँ र तिहारमा छायांकनको तयारी भइरहेको बताउनुभयो ।

‘फिल्ममा सोसल ड्रामासँगै प्रेमकथा देखाइने छ । हाम्रो भूमिकालाई सुहाउँदो भएकाले आर्यनजीलाई अनुबन्धित गरेका हौँ । उहाँ पनि भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ,’ रघुले भन्नुभयो । उहाँले फिल्मको अन्य कास्ट एन्ड क्रिउको बारेमा केही समयमै जानकारी दिने बताउनुभयो । फिल्ममा कथा उहाँकै रहेको छ ।

निर्देशक भने उहाँले भारतीय रहने बताउनुभयो । उहाँले फिल्मको कथावस्तुअनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको बताउनुभयो । फिल्मको अधिकांश छायांकन अस्ट्रेलियाको सिड्नीमा हुनेछ भने केही प्रतिशत मेलवर्नमा समेत गरिने उहाँले जनाउनुभयो ।