जनता टाइम्स

८ श्रावण २०७६, बुधबार १५:५८

चार पटक प्रधानमन्त्री हुँदा केही काम नगर्ने देउवाको संसदमा प्रस्ताव : भारतसँग कूटनीतिक पहल गरौँ


काठमाडौं, साउन ८

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बाढी र डुवान समस्याको स्थायी समाधानका लागि नेपाल र भारतविच कुटनीतिक पहल हुनुपर्ने बताउनु भएको छ । उहाले त्यसको पहलकदमी सरकारले लिनुपर्ने बताउनु भएको हो ।

बाढी र डुवानका बेला एकले अर्कालाई दोष दिएर मात्र समस्या समाधान नहुने भन्दै उहाले डुवान र बाढीको समस्या अन्त्य गर्न भारतसँग कुटनीतिक स्तरमा संवाद गरेर स्थायी समाधान खोज्नुपर्ने बताउनु भयो । संसदमा बाढी पहिरोबारे जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्दै उहाले तराईको डुबानको समस्या समाधानका लागि भारतसँग कुरा गर्नुपर्ने बताउनु भयो ।

‘भारतले नेपाललाई दोष दिने, नेपालले भारतलाई दोष दिने कहिलेसम्म चल्छ यो ?’ चार पटक प्रधानमन्त्री भईसकेका देउवाले संसदमा सोध्नुभयो, ‘यसमा कूटनीतिक रुपमा कुरा गरेर सधैंका लागि समस्या समाधान गर्नुपर्छ, एकअर्कालाई गाली गरेर हुँदैन ।’

तराईमा भयानक डुबान र पहाडमा पहिरोको प्रकोप आउँदा समेत सरकारले मतलबै नगरेको सभापति देउवाको आरोप छ । ‘केही मतलबै छैन सरकारलाई । पानीको सतह बढेको छ, पुलसम्म पानी पुगेको छ । सरकार कुनै मतलब राखेकै छैन,’ उहाले भन्नुभयो, ‘हेलिकप्टरमा गएर जनताको दुःख तकलिब ठीक हुन्छ ?’ सम्पूर्ण नेपाल एक भएर दुःख परेका जनताको पक्षमा लाग्नुपर्नेमा देउवाले जोड दिनुभयो ।