जनता टाइम्स

८ श्रावण २०७६, बुधबार १९:५०

गुल्मी पहिरोका दुई घाइते लिएर राजधानी फर्किए परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं, साउन ८

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गृहजिल्ला गुल्मीको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक कसिङथलामा पहिरोमा पुरिएर घाइते भएका २ जनालाई लिएर काठमाडौं फर्किनु भएको छ ।

सत्यवती–४ का १० वर्षीय करिष्मा तरामु र १३ वर्षीय धनी तरामुलाई परराष्ट्रमन्त्री ज्ञवालीले राहत लिएर गएको हेलिकप्टरमा उपचारका लागि काठमाडौं लिएर आउनु भएको हो । दुवै जनाको टाउकोमा गम्भिर चोट लागेको छ । उनिहरु दुवै जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार शुरु गरिएको उहाका प्रेस सल्लाहकार सुदन ज्ञवालीले जानकारी दिनुभयो ।

सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा गएको पहिरोमा सुरक्षाकर्मीले उद्दार जारी राखेका छन् । ३२ वर्षीय पम्फा बिकको डेढ वर्षको छोरा सुमनको शव बुधबार भेटिएको छ । ९ वर्षीय तारा भने अझै भेटिएकी छैन । पम्फाकै घरको वाकसमा रहेको ७५ हजार रुपैयाँसमेत सुरक्षाकर्मीले फेला पारेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीको नेतृत्वमा सत्यवतीको लिम्घाको भीरकुनामा पुगेको टोलीले विस्थापितलाई हिजो र आज विहान राहत सामग्री प्रदान गरेको थियो । गृहमन्त्रालयका सहसचिव इन्दु घिमिरे, डा. प्रेमराज ज्ञवाली सहितको टोलीले पहिरो प्रभावित क्षेत्र लिम्घामा पुगेको क्षतिको विवरण लिनु भएको थियो ।