जनता टाइम्स

२४ श्रावण २०७९, मंगलवार १९:२२

मध्यपूर्वको शान्तिका निम्ति दुई राज्यको अवधारण उपयुक्त : चीन


संयुक्त राष्ट्रसङ्घ, साउन २४ । संयुक्त राष्ट्रसङ्घका लागि चिनियाँ राजदूत झाङ जुनले प्यालेस्टाइन समस्या चाँडोभन्दा चाँडो समाधान गर्न दुई राज्यको अवधारणलाई आत्मसात गर्दै त्यसलाई अगाडि बढाउन अन्तर्राष्ट्रिय समुदायले ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ ।

सुरक्षा परिषद्को आपत्कालीन बैठकको सोमबार अध्यक्षता गर्दै राष्ट्रसङ्घका लागि स्थायी चिनियाँ प्रतिनिधि जुनले प्यालेस्टाइन समस्या सम्बोधन गर्न दुई राज्यको समाधानलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।

इजरायल र प्यालेस्टिनी इस्लामिक जिहादबीच आइतवार भएको युद्धविराम सम्झौताको चीनले प्रशंसा गरेको बताउँदै उहाँले युद्धविराम सम्झौतामा पुग्नु शान्ति स्थापानका निम्ति महत्वपूर्ण भएको र त्यो प्रारम्भिक चरणको प्रयास भएको उल्लेख गर्नुभयो । गाजा क्षेत्रमा हिंसा रोक्न युद्धविराम अपरिहार्य थियो भन्दै उहाँले त्यसको कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण भएको बताउनुभयो ।

गाजामा जतिसक्दो चाँडो शान्ति स्थापना गर्न कूटनीतिक प्रयास जारी हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । प्यालेस्टिनी जनताको स्वतन्त्रता र राज्यको अधिकार उल्लङ्घन हुननहुने चीन सरकारको धारणा प्रस्ट गर्नुभयो । शान्ति प्रक्रियालाई जतिसक्दो चाँडो पुनर्जीवित गर्न अविलम्ब कूटनीतिक प्रयास हुनुपर्ने उहाँले बताउनुभयो । सोमबारको आपत्कालीन बैठक चीन, संयुक्त अरब इमिरेट्स, फ्रान्स, आयरल्याण्ड र नर्वेको अनुरोधमा भएको हो ।