जनता टाइम्स

२७ श्रावण २०७९, शुक्रबार १२:५९

धामीझाँक्रिका लागि पनि जनैपूर्णिमाको यस्तो छ महत्व !


तेह्रथुम २७ साउन । जनैपूर्णिमा तेह्रथुमको छथर गाउँपालिकाका धामीझाँक्रीहरूको लागि महान पर्व हो । उनीहरू नाग पञ्चमीदेखि धामी घरघरमा थान लगाएर १० दिनसम्म निरन्तर चिन्ता बस्ने गर्ने गरेका छन् । १० दिनको रात आध्यात्मिक ज्ञान आर्जनका लागि विभिन्न देवस्थलहरुमा गुफा बस्न जाने गरेका छन् ।

यहाँका धामीहरू विषेश गरी मार्गपोखरीमा गुफा बस्ने र ज्ञान लिन गरेको धामी कान्छाबहादुर लिम्बुले बताउनुभयो । उहाँ भन्नुहुन्छ , ‘हामी १० दिनसम्म घर-घरमा चिन्ता बस्छौँ । १० दिनको रात गुफा बस्न जाने गुफा बस्न जान्छौँ, नजाने गुरुकोमा जाने गर्छौँ र पूर्णिमाको दिन बजारमा रहेको रत्नदेवी मन्दिरमा आएर पूजा गर्छौँ ।’

उहाँले आफ्ना धेरै चेलाहरूलाई ज्ञान आर्जन गर्न गुफा बसाउन लैजाने गर्नुभएको छ । खासगरी भर्खर उत्रिँदै गरेका धामीहरू ज्ञान आर्जनका लागि गुफा बस्ने गर्छन् । सबैले मान्ने गुरुले आफ्ना चेलाहरूलाई आध्यत्मिक ज्ञान आर्जनका लागि गुफा बसाउन लाने गर्छन् ।

पूर्णिमाको अघिल्लो दिन रात गाउँका सबै धामीहरू भेला भएर गुफा तथा गुरुकोमा पुग्ने गरेका छन् । गुफा बस्न छथरको मार्गपोखरी लगायत विभिन्न देवस्थलहरूमा पुग्ने गरेका छन् । पूर्णिमाको दिन गुफाबाट फर्किएपछि बजारको वरिपरि नाँच्दै घर फर्किने गरेका स्थानीयहरूले बताउने गरेका छन् । तेह्रथुमको छथर शुक्रबारेमा भदौरे पूर्णिमा (जनैपूर्णिमा)को मुख्य आकर्षण नै धामीझाँक्रीको कला प्रर्दशन हो ।

धामीझाँक्रीहरूको मौलिक कलालाई संरक्षण,सम्वर्द्धन तथा प्रोत्साहन गर्न रत्नदेवी युवा सेवा समाज छथर शुक्रबारेले विगतका वर्षदेखि सम्मान कार्यक्रम गर्दै आएको छ । विभिन्न टाउँबाट आएका धामीहरूलाई बजारमा कार्यक्रमका साथ सम्मान रुपमा नगद प्रदान गर्दै आएको समाजका अध्यक्ष अनिल आंखेवाले बताउनुभयो ।

‘हामीले मौलिक कला,संस्कृतिलाई प्रवर्द्धन, संरक्षण तथा प्रोत्साहन गर्ने उद्देश्यका साथ विगतका वर्षदेखि धामीहरूलाई सम्मान गर्दै आएका छौँ र यस वर्ष पनि गरेका हौँ । हाम्रो सानो सम्मानले धामीहरूलाई प्रोत्साहन पुग्छ भन्ने विश्वास छ,’ उहाँले भन्नुभयो । तेह्रथुम, धनकुटा र पाँचथर लगायतका जिल्लाका धामीहरू भदौरे पूर्णिमा आउने गर्छन ।