जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार १४:२३

ओरिया खोलाले बगाएर ल्याएको १४ वर्षीया किशोरीको लास फेला


वीरगञ्ज, साउन ९

ओरिया खोलाले बगाएर ल्याएको १४ वर्षीया किशोरीको लास पश्चिमी पर्साको जगन्नाथपुर गाउँपालिका–२ मा आज बिहान फेला परेको जानकी टोलस्थित प्रहरी चौकीले जनाएको छ । उक्त लास सडेगलेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक नवराज कार्कीले बताउनुभयो ।

यसैगरी मङ्गलबारदेखि आएको अविरल वर्षाका कारण ठोरी गाउँपालिका–३ को रामनगर र बुद्धनगरमा रहेको खानेपानीको पाइप बगाउँदा १५० घरपरिवार प्रभावित भएको ठोरीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

चिसापानी भन्ने ठाउँबाट पाइपमार्फत खानेपानी आउने गरेकामा बाढीले सो पाइप बगाएपछि त्यहाँका बासिन्दा आकासेपानी खान बाध्य भएको उक्त कार्यालयका प्रहरी निरीक्षक केदारराज पन्तले बताउनुभयो । वर्षाको भेलले ठाउँ–ठाउँमा बाटो भत्काउँदा बुद्धनगरसम्म मात्र सावारी साधन चल्ने भएकाले दर्जनौँ गाउँको ठोरीसँग सम्पर्कविच्छेद भएको छ ।