जनता टाइम्स

३० श्रावण २०७९, सोमबार १६:२२

क्रिकेटर अमित श्रेष्ठ आइटेल मोबाइलको सदभावना दूत


काठमाडौं, ३० साउन । क्रिकेटर अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनी आइटेलले सदभावना दूत (ब्रान्ड एम्बेस्डर) बनाएको छ । नेपाल पुलिस क्लबका ब्याटरसमेत रहेका २८ वर्षीय अमितलाई महालक्ष्मी मोबाइल आइटेलले एक वर्षका लागि नियुक्त गरेको हो । यससंगै अमितलाई आइटेलले खेल सामग्री सहयोग गर्नेछ । दायाँ हाते ब्याटर अमितले नेपालको यु–१९ टोलीबाट समेत खेलिसकेका छन् ।

अमितले घरेलु प्रतियोगितामा लगातार दोस्रो शतक प्रहार गरेका थिए । उहाँले वीरगन्जबाट सन् २०१२ मा दुई शतक बनाउनुभएको हो । फ्रेन्चाइज एभरेस्ट प्रिमियर लिग भने अमितले काठमाडौ किङ्स ११ बाट खेलेका थिए । आइटेल कम्पनी सन् २०१७ बाट प्रयोगमा आएको हो । जुन १७ देशमा प्रयोगमा छ । जसमध्ये अफ्रिकामा बढी प्रयोग हुँदै आएको महालक्ष्मी मोबाइल आइटेलका बिजनेस डेभलपमेन्ट हेड राजेश पौडेलले बताउनुभयो ।

उहाँले आइटेल मोबाइल नेपालमा नम्बर वान भएको दाबी गर्नुभयो । सम्झौतापछि पौडेलले क्रिकेट सबैले रुचाएको खेल भएको कारण सहकार्य गरेको बताउनुभयो । ‘क्रिकेट सबैले रुचाएको खेल हो । खेलका लागि केही गरौं भनेर नै क्रिकेट खेलाडीलाई सहयोग गरेका हौं । खेलाडीलाई पनि सहयोग होस् र हाम्रो नि प्रचार होस् भनेर सहकार्य गरेका हौं,’ पौडेलले भन्नुभयो ।

उहाँले खेल सामग्री करिब एक लाख २० हजार रुपैयाँसम्मको हुने बताउनुभयो । जसबापत अमितले कम्पनीको प्रचार गर्नेछन् । अमितले भविष्यमा क्रिकेट खेल्ने यो सहकार्यले राहत पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सहकार्यका लागि आइटेललाई धन्यवाद । यसपछि मलाई भविष्यमा खेल्न झनै सहयोग पुग्नेछ,’ अमितले भन्नुभयो । सम्झौतामा पौडेल र अमितले हस्ताक्षर गरेका छन् ।