जनता टाइम्स

३० श्रावण २०७९, सोमबार १७:५४

आङ सान सुकीलाई थपियो ६ वर्षको जेल सजाय, अब १७ वर्ष पुग्यो


एजेन्सी, ३० साउन । म्यानमारकी अपदस्थ नेता तथा नोबेल पुरस्कार विजेता आङ सान सुकीलाई सोमबार थप ६ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई यसअघि चार वर्षको जेल सजाय सुनाइएको थियो । यो निर्णयपछि ७७ वर्षीया सुकीका समर्थकहरूको आक्रोश बढ्न सक्ने बताइएको छ ।

मुद्दाका विज्ञहरुका अनुसार कारागार परिसरको अदालतले उनलाई परोपकारी संस्थाको नाममा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गरेको हो ।म्यानमारमा सत्ता पलटपछि सुकीलाई दोषी ठहर गरी सजाय सुनाइएको यो चौथो पटक हो ।

उनलाई अहिलेसम्म कुल १७ वर्षको जेल सजाय सुनाइएको छ । मण्डले उच्च अदालतका न्यायाधीश मिन्ट सानले फैसला सुनाउँदै सुकीका कारण देशलाई १ करोड ३० लाख डलर नोक्सान भएको बताएका छन् ।

उनले डा.खिन फाउण्डेसनको मुख्यालय बनाउन भाडामा लिएको जग्गा निकै सस्तो मूल्यमा दिएको र आन्तरिक राजस्व विभागले बढी मूल्य तोकेको आरोप छ । जुन्टाले सुकीमाथि राजधानीमा आफ्नो घर बनाउन सार्वजनिक चन्दाको दुरुपयोग गरेको आरोप लगाएको छ।

यसबाहेक व्यवसायीसँग घूस लिएको , यो घूस उनको परोपकारको लागि चन्दाको रूपमा लिइएको थियो। सुकीले यी सबै आरोपलाई आधारहीन भन्दै आफू निर्दोष भएको बताएकी छन् ।

सोही आरोपमा सुकीका थप दुई सहयोगीलाई पनि तीन वर्षको जेल सजाय सुनाइएको छ । यसअघि सुकीलाई सोही अदालतले लाइसेन्स बिना वाकीटकी आयात गर्ने, कोभिड नियम तोडेको र सेनाविरुद्ध जनतालाई उक्साएको आरोपमा ११ वर्षको जेल सजाय सुनाएको थियो ।

सुकीका वकिललाई मिडियासँग कुरा गर्न प्रतिबन्ध लगाइएको छ ।