जनता टाइम्स

२ भाद्र २०७९, बिहीबार १३:५२

काबुल मस्जिद विस्फोट : मृत्यु हुनेको संख्या ३० पुग्यो


एजेन्सी, २ भदौं । अफगानिस्तानको राजधानी काबुलको मस्जिदमा भएको बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । जबकि यस विष्फोटमा ४० जना भन्दा बढी घाइते भएका छन् । सञ्चारमाध्यमले रक्षा विभागको स्रोतलाई उद्धृत गर्दै विष्फोटमा मारिएका व्यक्तिहरूको सूचीमा प्रख्यात धार्मिक गुरुअमिर मोहम्मद काबाली पनि रहेको बताएको छ।

वास्तवमा, तालिबानले अफगानिस्तानमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरे पनि इस्लामिक स्टेट लडाकु समूह (आईएस) लडाकूहरूले देशभरि नागरिक र प्रहरीमाथि आक्रमण गरिरहन्छन् । दुई साताअघि काबुलमा भएका दुईवटा घातक विस्फोटमा १० जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए । मिडिया रिपोर्टका अनुसार इस्लामिक स्टेटले दुवै आक्रमणको जिम्मेवारी लिएको थियो।

उत्तरी काबुलको एक मस्जिदमा साँझको प्रार्थनाका लागि मानिसहरू भेला भएका बेला विस्फोट भएको थियो। काबुल प्रहरीका प्रवक्ताले रोयटर्सलाई मस्जिद भित्र विस्फोट गराएको बताए । विस्फोट निकै शक्तिशाली थियो ।

विस्फोटका कारण मस्जिद वरपरका घरका झ्यालका सिसा पनि फुटेका छन् । तालिवानका एक गुप्तचर अधिकारीले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । मृत्यु हुनेमा मस्जिदका इमाम पनि थिए।

त्यसैगरी काबुलको इमर्जेन्सी अस्पतालबाट केही व्यक्तिहरू मात्र घाइते भएको र उनीहरूको उपचार भइरहेको बताइएको छ। जसमा एक सात वर्षीय बालक पनि छन् । घटनालगत्तै सुरक्षाकर्मी र एम्बुलेन्स घटनास्थलमा पुगेका थिए । तालिबानले आफ्नो विजयको वार्षिकोत्सव सप्ताहब्यापी मनाइएहेको बेला यो आक्रमण भएको हो। तालिबानले १५ अगस्ट २०२१ मा अफगानिस्तान कब्जा गरेको थियो।

गत हप्ताको सुरुमा मदरसामा एक मौलवीको पनि हत्या भएको थियो । ती धर्मगुरुले आइएसको बारेमा निकै आक्रामक भाषण दिन्थे। बिहीबार मदरसामा भएको आत्मघाती हमलामा उनको मृत्यु भएको थियो । जिहादी संगठनले आक्रमणको जिम्मेवारी लिएको छ ।