जनता टाइम्स

२ भाद्र २०७९, बिहीबार १७:२१

आर्यनको फिल्म ‘सायरा’ बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने


काठमाडौं, २ भदौ । अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ फिल्मलाई बलिउडका निर्देशक विशाल देसाई निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशालबीच बिहीबार भारतको मुम्बईमा सम्झौता भएको छ । निर्माण कम्पनी डिबिआर मिडिया एन्ड मुभिज प्रालिको तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दसैँताका फिल्म छायांकन हुने बताउनुभयो ।

‘हाम्रो फिल्म गर्न उहाँ तयार हुनुभयो । बलिउडको उहाँको अनुभवले नेपाली फिल्मको मेकिङ उत्कृष्ट हुने विश्वास छ । उहाँले हामीलाई गर्नुको ट्रष्टले निकै खुसी मिलेको छ,’ मुम्बईमा रहेका निर्माता रघुले भन्नुभयो । निर्देशक देसाईले पनि नेपाली फिल्म गर्न पाउँदा उत्साहित भएको बताउनुभयो । ‘नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ छ । सांस्कृतिक दृष्टिकोणले पनि हामी नजिक छौँ । नेपाली फिल्मको अफर आएकोले यसपटक गर्न रेडी भएको हुँ,’ निर्देशक देसाईले भन्नुभयो ।

आफू अहिलेसम्म नेपाल नआए पनि नेपाली जीवनशैलीसँग परिचित रहेको उहाँले प्रतिक्रिया दिनुभयो । निर्देशक देसाईले वीरगति र ढोलकी नामक फिल्म निर्देशन गरिसकेका छन् । यस्तै उहाँले ‘कामिनी दामिनी’ नामका टिभी सिरियलसमेत निर्देशन गर्नुभयो । उहाँले धेरै फिल्ममा अभिनय समेत गर्नुभएको छ । उहाँले अमर प्रेममार्फत अभिनय यात्रा सन् १९७२ मा सुरु गरेका थिए ।

फिल्ममा अभिनेताको रुपमा आर्यन सिग्देल केही दिन अगाडि मात्र अनुबन्धित भइसकेका छन् । नेपाली फिल्ममा अभिनय गर्न सक्ने चकलेटी लुक्स भएका आर्यनको बलियो कमब्याकको रुपमा ‘सायरा’ हुनेछ । फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन फिल्मको विषयवस्तुले आकर्षित भएका हुन् ।आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ ।

फिल्मका प्रस्तुतकर्ता रघुले दसैँ र तिहारमा छायांकनको तयारी भइरहेको बताउनुभयो । उहाँले फिल्मको अन्य कास्ट एन्ड क्रिउको बारेमा केहि समयमै जानकारी दिने बताउनुभयो । फिल्ममा कथा उहाँकै रहेको छ । निर्देशन भने उहाँले भारतीय रहने बताउनुभयो । ‘हामीले लाइन अप पूरा भएपछि पूर्ण रूपमा जानकारी दिने छौँ,’ प्रस्तुतकर्ता रघुले बताउनुभयो । उहाँले फिल्मको कथावस्तुअनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको बताउनुभयो । फिल्मको अधिकांश छायांकन अष्ट्रेलियाको सिड्नीमा हुनेछ भने केही प्रतिशत मेलवर्नमा समेत गरिने उहाँले जनाउनुभयो ।