जनता टाइम्स

७ भाद्र २०७९, मंगलवार १९:४६

युक्रेनी महिलाको बलात्कारको भिडियो शेयर गरेपछि हंगामा,बुझौं पूरा घटना


एजेन्सी, ७ भदौं । प्रधानमन्त्री पदको दौडमा रहेकी एक इटालियन नेतृले युक्रेनी महिला बलात्कृत भएको भिडियो शेयर गरेर हंगामा मच्चाएकी छन् । तर, विवादकाबीच ट्विटरले उक्त भिडियो आफ्नो प्लेटफर्मबाट हटाएको छ ।

इटालीको आगामी प्रधानमन्त्री बन्ने दौडमा अति दक्षिणपन्थी नेतृ जर्जिया मेलोनी सबैभन्दा अगाडि छिन् । उनले सोमबार आफ्नो ट्वीटर अकाउन्टमा यो भिडियो सेयर गरेकी हुन् ।

जर्जिया मेलोनीले पोस्ट गरेको भिडियो धमिलो थियो । भिडियोमा एक आप्रवासी पुरुषले युक्रेनी महिलालाई बलात्कार गरेको देखिन्थ्यो । भिडियो सार्वजनिक गर्दै, उनले लेखिन् ‘यौन हिंसाको यो घृणित घटना’ मा म चुप लागेर बस्न सक्दिन। यद्यपि, मानिसहरूले उनलाई त्यस्ता भिडियोहरू सेयर नगर्न आग्रह गरेका छन्।

उजुरी पछि ट्विटरले मेलोनीको ट्वीट हटायो । यो भिडियो यसअघि आइतबार राति एक पत्रिकाको वेबसाइटमा सार्वजनिक गरिएको थियो । मेलोनीका राजनीतिक प्रतिद्वन्द्वी र मानवअधिकारकर्मीहरूले उनको ट्वीटको कडा निन्दा गरेका छन्।

मानिसहरूले मेलोनीलाई पीडितको सहमति बिना भिडियो पोस्ट गरेर पीडितलाई झन पीडा थपेको आरोप लगाएका छन् । मंगलबार बिहान उक्त पोस्ट हटाइएको हो । मेलोनीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।

यसअघि सोमबार मेलोनीले ट्वीटरमा भनेकी थिइन्, ‘पीडितप्रति ऐक्यबद्धता व्यक्त गर्न, घटनाको निन्दा गर्न र पीडितलाई न्यायको माग गर्न भिडियो जारी गरेको हो ।’ स्थानीय अधिकारीहरूले उत्तरी सहर पियासेन्जामा एक ५५ वर्षीया युक्रेनी महिलालाई गिनी (पश्चिम अफ्रिकी देश) बाट आएका एक आप्रवासीले फुटपाथमा आक्रमण गरेको बताएका छन्।

प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । उक्त व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो घटनाको भिडियो त्यही सडक अगाडिको फ्ल्याट भित्रबाट कसैले बनाएको हो । अनलाइन पोस्ट गरिएका भिडियोहरू पछि धमिलो बनाइयो, जसले पीडितको पहिचान गर्न असम्भव बनाएको थियो, तर उनको रोएको अडियोमा स्पष्ट रूपमा सुन्न सकिन्छ।

इटालियन अधिकारीहरूले भिडियो कसरी जारी गरियो भन्ने बारे अनुसन्धान भइरहेको बताएका छन् । पिआसेन्जाका अभियोजक ग्राजिया प्राडेलाले भने– ‘आपराधिक घटनालाई चित्रण गर्ने यो भिडियो मिडियामा कसरी पुग्यो भनेर अनुसन्धान भइरहेको छ।’