जनता टाइम्स

१३ भाद्र २०७९, सोमबार २०:२८

तीन सय यात्रु बोकेको जहाजमा आगलागी, उद्धारमा तीन हेलिकप्टर खटिए


एजेन्सी, १३ भदौ । स्वीडेनको सामुद्रिक तटमा एउटा जहाजमा अचानक आगो लागेको छ । एएफपीका अनुसार सो जहाजमा ३०० व्यक्ति सवार थिए। यो बोटलाई कार फेरी भनिन्छ, जसलाई पानीमा यात्रु वा सवारीसाधन बोक्न प्रयोग गरिन्छ।

स्वीडेनका सामुद्रिक प्राधिकरणका अनुसार राहत र उद्धारको काम युद्धस्तरमा सुरु भएको छ । घटनास्थलमा तीनवटा हेलिकप्टर र सातवटा बोट पुगेका छन् । मानिसहरुको उद्धार जारी छ ।

एक अधिकारीका अनुसार पहिले जहाजको डेकमा आगो लागेको थियो । अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन । आगो नियन्त्रणमा आएको बताइएको छ । जानकारी अनुसार स्वास्थ्य विभागको टोली पनि घटनास्थलमा पुगेको छ ।

आगलागी हुँदा जहाज तट नजिकै थियो । त्यसैले उद्धारमा खटिन धेरै समय लागेन। आगलागी के कारणले भयो र जहाजमा के कति क्षति भयो भन्ने खुल्न सकेको छैन ।