जनता टाइम्स

११ श्रावण २०७६, शनिबार १३:४९

बिप्लव समुहको लक्ष्य नै चन्दा असुली, जताततै चन्दा आतंक


खोटाङ, साउन ११

नेत्र विक्रम चन्द (बिप्लव) चन्द समूहले जिल्लाका अधिकांश स्थानीय तह र विद्यालयहरुमा चन्दा आतङ्क मच्याएका छन् । जनताको शासन व्यवस्था ल्याउन सबैले सहयोग गर्नुपर्ने भन्दै चन्दा दिन उर्दी जारी गरेका हुन् । हाल विभिन्न पालिकाहरुबाटै चन्दा असुलेको खुलासा समेत भएको छ । केही पालिकाले एक लाख रुपैयाँसम्म चन्दा दिएको स्रोतले जनाएको छ ।

त्यसको श्रेस्ता नदेखिने गरी मिलाएर दिइएको एक प्रमुख प्रशासकीय अधिकृतले बताउनुभयो । एक पालिकाका अध्यक्षले भन्नुभयो, ‘मिलाएर नदिए खैरियत छैन ।’ खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह छन् । यता विद्यालयहरुमा चन्दा उर्दी गरेको प्रअहरुले बताएका छन् ।

गत जेठ–असारदेखि नै चन्दा मागेको एक विद्यालयका प्रअले बताउनुभयो । उहाँका अनुसार हरेक चौमासिक बराबर एक दिनको तलव माग गरेका छन् । हाल केही विद्यालयहरुले असारमै चन्दा उपलब्ध गराइसकेका छन् भने केहीले अर्को चौमासिकमा दिने बचन दिएको स्रोतले जनाएको छ ।

खोटाङमा ४९० वटा विद्यालय रहेका छन् । प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले चन्दा आतङ्कबारे कुनै सूचना नआएको जानकारी दिनुभएको छ ।