जनता टाइम्स

१६ भाद्र २०७९, बिहीबार १३:२४

ताइवानले गाली हानेर खसाल्यो चिनियाँ ड्रोन, के यो युद्धको सुरुवात हो ?


एजेन्सी, १६ भदौ । चीन र ताइवानबीच तनाव बढ्दै गएको छ । ताइवानले एउटा चिनियाँ ड्रोनलाई खसालेको समाचार आइरहेको छ। ताइवानको किनमेन डिफेन्स कमाण्डले किनमेन नजिकै अज्ञात नागरिक ड्रोन खसालेको बताएको छ।

ताइवानको गोलीबारीमा चिनियाँ ड्रोन खसालेको यो पहिलो पटक हो । यसअघि ताइवानले किनमेन टापुमा प्रवेश गर्न खोजेको चिनियाँ ड्रोनमाथि चेतावनी प्रहार गरेको थियो । अमेरिकाले खुल्लमखुल्ला ताइवानलाई चीनको विरुद्धमा समर्थन गरिरहेको छ । यसले स्वशासित देशको आत्म–विश्वासलाई बढाएको छ, जुन सन् २०२३ को लागि ताइवानको प्रस्तावित रक्षा बजेटबाट प्रमाणित हुन्छ।

ताइवानको रक्षा मन्त्रालयले प्रतिबन्धित पानीमाथि उडिरहेको नागरिक ड्रोनलाई गोली हानेर खसालेको पुष्टि गरेको छ। एक दिन अघि बुधबार चिनियाँ पत्रकार हु शिजिङले ट्वीटमा ताइवानी सैनिकलाई चेतावनी दिदै लेखेका थिए ‘मुख्य भूमिमा ड्रोनलाई कहिल्यै खसाल्नु हुँदैन। सम्भवतः तिनीहरू नागरिकहरूसँग सम्बन्धित हुन सक्छन्। तर यदि उनीहरूलाई गोली हानियो भने, पीएलए ताइवान पक्ष विरुद्ध बदला र प्रतिकार गर्न बाध्य हुनेछ।’

किनमेन डिफेन्स कमाण्डले गत दुई दिनमा चारवटा चिनियाँ नागरिक ड्रोनले ताइवानको हवाई क्षेत्रमा घुसपैठ गरेपछि चार पटक गोली चलाएको थियो । ताइवानका अधिकारीहरूले चीनको ग्रे जोन रणनीतिलाई बेइजिङको ‘कग्निटिभ वारफेयर’ को भागको रूपमा हेरिरहेका छन् जसले ताइवानको सेनालाई ध्वस्त पार्ने र सरकारप्रति जनताको विश्वासलाई कमजोर पार्ने लक्ष्य राखेको छ।