जनता टाइम्स

११ श्रावण २०७६, शनिबार १५:५७

खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा


तनहुँ, साउन ११

तनहुँको भानु नगरपालिका–३ स्थित खहरे खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त आयोजना निर्माण पश्चात नौ टोलका करीब ३५० घरधुरी लाभान्वित हुने भएका छन् । उक्त वडाअन्र्तगत बारपिर्के, तीनकुने, सातबिसे, गैह्रीफाँट, मिलन, सिर्जना, खहरे र बुद्ध टोलका बासिन्दा खानेपानी आयोजनाबाट लाभान्वित हुने वडाध्यक्ष दलनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

दोरदोर चिप्लेटीबाट खहरेसम्म करीब पाँच किलोमिटर टाढाबाट पानी ल्याई ट्याङकीमा जम्मा गरेर घरमा धारा पुर्याउने लक्ष्य छ । मूल ट्याङकीबाट करीब १७ किलोमिटरसम्म पाइप पुर्याइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । “बढीमा एक महीनाभित्र पानी नियमित गर्ने लक्ष्य राखिएको छ ।” आयोजनाको लागि जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन तनहुँमार्फत रु दुई करोड ५२ लाख विनियोजन गरिएको थियो ।

विसं २०७४ चैत्र महीनामा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि समयमा बजेट निकासा नहुँदा एक वर्षपछि धकेलिन पुगेको खहरे खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर थापाले बताउनुभयो । त्यसैगरी सोही वडामा पर्ने दोरदोर खानेपानी योजनाको निर्माण कार्य शुरु गरिएको छ । धारापानीबाट २०० मिटरमाथि लिफ्टिङ प्रविधिमार्फत खानेपानी वितरण गर्न लागिएको हो ।

उक्त योजनाबाट त्यस क्षेत्रका लाकुरे भञ्ज्याङ, चण्डिथोक, रिडीपानीका ७० घरधुरीलाई लक्षित गरी योजना निर्माण शुरु गरेको वडाध्यक्ष दलनारायण श्रेष्ठले बताउनुभयो । जनसहभागितासहित रु एक करोड ६० लाखको लागतमा उक्त योजना सम्पन्न गर्ने गरी सम्झौता भएको उहाँले बताउनुभयो ।