जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार १९:५५

चक्रवाती आँधी चीन–जापान पुग्यो, दुवै देशको उडान रद्द


एजेन्सी, १९ भदौ । यस वर्षको सबैभन्दा शक्तिशाली चक्रवाती आँधी हिनामोर चीन र जापानमा पुगेको छ । जसका कारण पूर्वी चीनका सहरहरूमा फेरी सेवा बन्द गरिएको छ ।

आँधीको प्रभावका कारण जापानमा उडानहरु पनि बन्द गरिएको छ । यस चक्रवाती आँधीका कारण ताइवान र कोरियामा भारी वर्षा र तीव्र हावा चलेको थियो । सांघाईमा फेरी सेवा रोकेर ५० हजारभन्दा बढी प्रहरी तैनाथ गरिएको छ ।

यी प्रहरीले खतरा क्षेत्रमा उद्धार कार्य गरिरहेका छन् । यससँगै त्यहाँ फसेका मानिसहरूलाई बाटो पनि देखाईरहेका छन् । वानझाउको पूर्वी व्यापार केन्द्रमा सोमबारका लागि सबै कक्षाहरू खराब मौसमका कारण स्थगित गरिएको छ।

हिनामोर आँधी १७५ किलोमिटर प्रतिघण्टाको गतिमा पूर्वी चीन सागरतर्फ सर्ने अनुमान गरिएको छ । जापानको दक्षिणी ओकिनावा टापुमा रहेका क्षेत्रहरू खाली गर्ने र उडानहरू रद्द गर्ने काम सुरु भएको छ। यस चक्रवाती आँधीका कारण भारी वर्षा र बाढीको सम्भावना पनि रहेको छ ।

चीनको केन्द्रीय मौसम विज्ञान केन्द्रले आइतबार बिहान १० बजे आँधीको बारेमा पहेंलो चेतावनी जारी गरेको थियो । यससँगै उत्तरपूर्वी सिजियाङ, सांघाई र ताइवानमा भारी वर्षाको चेतावनी दिइएको छ ।

समुद्रमा जाने जहाजहरूलाई किनारमा फर्कन भनिएको छ । यसका साथै मानिसहरूलाई बाहिर ननिस्कन पनि आग्रह गरिएको छ । भारी वर्षा र तीव्र हावाले जापानको ओकिनावा र वरपरका टापुहरूमा विनाश मच्चाएको छ। बाढीको डरले यहाँका अन्य टापुहरूमा जाने उडान बन्द गरिएको छ ।