जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार २०:२१

सोमालियामा खाद्यान्नको ट्रकमा आतंकवादी हमला


एजेन्सी, १९ भदौ । मध्य सोमालियाको अर्ध–स्वायत्त राज्य हिर्सबेलेमा अल–शबाब लडाकुहरूले खाद्य सामग्री बोकेका ट्रकहरूमा आक्रमण गरी नष्ट गरेका छन् । यस क्रममा आतंककारीहरूले १८ नागरिकको हत्या गरेका थिए र ट्रकमा आगजनी गरेका थिए ।

राज्य समाचार एजेन्सी सोन्नाले मारिनेहरू ट्रकका चालक भएको बताएको छ। अल–कायदासँग सम्बन्धित आतंककारी समूहहरूले सोमालियाको केन्द्रीय सरकारसँग एक दशकभन्दा बढी समयदेखि युद्ध लडिरहेका छन्। उनीहरू सोमालियामा इस्लामिक शरिया कानून लागू गर्न चाहन्छन् ।

उनीहरूले बारम्बार बम विष्फोट र बन्दुकको साथ सैन्य र नागरिकहरू लाई निशाना बनाउँदै आएका छन् । गत महिना उनीहरूले राजधानीको विलासी हयात होटलमा आक्रमण गरी २० जनाको हत्या गरेका थिए। होटल आतङ्ककारीहरूबाट खाली गर्न सुरक्षा बललाई ३० घण्टा लागेको थियो ।