जनता टाइम्स

१२ श्रावण २०७६, आईतवार ०९:४०

एकतालाई टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्दै, यसरी जुट्यो सहमति


काठमाडौं, साउन १२

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकतालाई अन्तिम टुंगो दिन सचिवालय बैठक आव्हान गरेको छ । नेताहरुको कार्य विभाजन टुंगो लगाउन केन्द्रीय सचिवालय बैठक अपराह्न ३ बजे बोलाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा ३२ वटा केन्द्रीय विभागसहित जनसंगठनका इञ्चार्जहरुको बारेमा छलफल गर्ने बताइएको छ । महासचिव विष्णु पौडेलका अनुसार सबै नेताहरुको कार्यविभाजनको टुंगो लाग्नेछ । ‘सचिवालय बैठक आज बस्दैछौं, सबै कार्यविभाजन टुंग्गो लगाउँछौं, अहिलेलाई यति भनौं,’ महासचिव पौडेलले भन्नुभयो ।

चर्चा र विवादमा रहेको स्कुल विभागसहित सबै विभागको प्रमुखका बारेमा बैठकमै छलफल गरेर टुंगो लगाइने नेताहरुले बताएका छन् । पूर्व एमालेको भागमा परेको स्कुल विभागमा ईश्वर पोखरेलको सहमति भएपनि पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठको दाबी परेपछि अन्य नेताले पनि आफ्नो दावेदारी प्रस्तुत गरेका थिए । जसका कारण सहमति जुट्न सकेको थिएन् । विवाद बढिरहे तत्काल सो विभागको प्रमुख कसैलाई नबनाइ अध्यक्षहरुले नै राख्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

यसैबीच, अनुशासन आयोग, लेखा परीक्षण आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिस्ट मञ्चको भने टुंगो लागिसकेको छ । अनुशासन आयोगमा अमृत बोहोरा र लेखा परीक्षण आयोगमा डा।पुष्प कँडेल प्रस्तावित छन् भने निर्वाचन आयोगको अध्यक्षमा अमिक शेरचनको नाम प्रस्ताव गरिएको छ । त्यस्तै, सल्लाहकार परिषदको अध्यक्षमा केशव बडाल र जेष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई प्रस्तावित छन् । बडाल पूर्व एमाले हुन् भने प्रसाई पूर्व माओवादी हुन् ।