जनता टाइम्स

२२ भाद्र २०७९, बुधबार १४:२४

जस्टिन बिबरले गरे विश्व यात्रा रोक्ने घोषणा


लसएञ्जल्स, २२ भदौ । अमेरिकी गायक जस्टिन बीबरले स्वास्थ्यको कारण देखाउँदै आफ्नो विश्व यात्रालाई रोक्ने घोषणा गर्नुभएको छ । उहाँले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत यो घोषणा गर्नुभएको हो । ‘यो वर्षको सुरुवातमा मैले रामसे हन्ट सिन्ड्रोमका साथ आफ्नो लडाइँलाई सार्वजनिक गरेको थिएँ । यो बिरामीका कारण मेरो आधा अनुहार प्यारालाइस भयो । जसकारण मैले नर्थ अमेरिकामा कन्सर्ट गर्न सकिनँ ।

यद्यपि केही समयपछि म ठीक भएँ र मैले आफ्नो डाक्टर, परिवार र टीमसँग कन्सल्ट गरेर आफ्नो यात्रालाई पूरा गर्न युरोप पुगें’, उहाँले लेख्नुभएको छ । उहाँ अगाडि लेख्नुहुन्छ,‘मैले त्यहाँ ६ लाइभ शो गरे । जसकारण मेरो स्वास्थ्यमा असर पर्यो । ब्राजिलका मानिसहरूलाई मनोरञ्जन दिन कुनै कमी बाँकी राखिनँ । तर अफस्टेजमा गएपछि मलाई निकै बढी थकान महसुस भयो ।

यहीकारण मैले पहिलो प्राथमिकता स्वास्थ्यलाई राखें । त्यहीकारण यो विश्व यात्राबाट तत्कालका लागि ब्रेक लिँदैछु । मलाई अहिले आरामको खाँचो छ ।’ जस्टिनले मार्च २०२३ सम्म दक्षिण अमेरिका, दक्षिण अफ्रिका, मध्यपूर्व, एसिया, युरोप, अष्ट्रेलिया र न्युजिल्यान्डमा प्रस्तुती दिने तयारीमा थिए ।