काठमाडौं, २३ भदौ । युक्रेनमा जारी युद्धको बीचमा रुसमाथि पश्चिमी देशहरूले लगाएका प्रतिबन्ध विश्वका लागि खतरा भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । बुधवार रुसको भ्लादिभोस्तोकमा पूर्वी आर्थिक मञ्चमा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
रुसी राष्ट्रपतिले सोमवार नर्ड स्ट्रिम १ पाइपलाइनबाट जर्मनीमा ग्यासको बहाव पश्चिमा देशहरूले रुसमाथिको प्रतिबन्ध नहटाएसम्म पुनः सुरु नहुने बताएपछि यस्तो टिप्पणी सार्वजनिक भएको अल जजिराले उल्लेख गरेको छ । यसैबीच युरोपेली सङ्घका मन्त्रीहरू रुसको ग्यास नियन्त्रण र चिसो मौसममा यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्दैछन् ।
यद्यपि यस किसिमको छलफललाई मस्कोले अर्थहीन भनेर टिप्पणी गरेको छ । यसैबीच चीनका लागि रुसी राजदूत आन्द्रे डेनिसोभले समाचार एजेन्सीहरूलाई राष्ट्रपतिद्वय पुटिन र सीले अर्को हप्ता उज्वेकिस्तानमा हुने क्षेत्रीय शिखर सम्मेलनमा भेट्ने बताएका छन् । फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि यो पहिलो प्रत्यक्ष भेट हुने अल जजिराले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्