धनगढी, २४ भदौ । भ्रष्टाचारविरुद्ध कैलालीको धनगढीमा कार्टुनिष्टहरुले निशाना प्रदर्शन गरेका छन् । कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा आजदेखि दुई दिने प्रदर्शनी सुरु भएको हो । नेपालका चर्चित ३६ जना कार्टुनिष्टहरुले भ्रष्टाचारविरुद्धको सन्देश दिने ५० वटा कार्टुन प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीको सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला पडाल जोशीले उद्घाटन गर्नुभएको हो ।
उपसभामुख जोशीले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि कार्टुनले सतर्कता बनाएको बताउनुभयो । कार्टुनमा नेपाली समाजमा देखिएको समस्याहरूलाई व्यङ्ग्यात्मक रूपमा सतर्क रहन बनाएको उहाँले बताउनुभयो । उहाँले कार्टुनबाट प्रस्तुत विषयले दीर्घकालिन रूपमै प्रभाव पार्ने बताउनुभयो । कार्टुन, चलचित्र, नाटक लगायतका कलाले समाजलाई सही बाटोमा दोहोर्याउन मद्दत पुगाउने गरेको उहाँले बताउनुभयो ।
कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष एवं नेपालका चर्चित काटुनिष्ट वासु क्षितिजले संघीयतामा मुलुक गएपछि विकाससँगै भ्रष्टाचार पनि तल्लो तहसम्म पुगेको बताउँदै जनप्रतिनिधि र नागरिकहरूलाई सतर्क बनाउन धनगढीमा निशाना सुरु गरिएको बताउनुभयो । विकृति–विसंगतीविरुद्ध रङ, रेखा र शब्दमार्फत उनीहरूले भ्रष्टाचारविरुद्ध लाग्न समुदायलाई नै आह्वान गर्नुभएको छ ।
प्रदर्शनीमा सहभागीहरूले निशानाले समाजको यर्थाथलाई उत्कृष्ट रूपमा प्रहार गरेको बताउनुभएको छ । उद्घाटन समारोहमा कार्टुनिष्टका सल्लाहकार अविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशी, वरिष्ठ पत्रकार चित्रांग थापा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षिराम आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्