जनता टाइम्स

१२ श्रावण २०७६, आईतवार १८:४७

शिक्षक नै बिद्यार्थीको आत्महत्याको कारण बनेपछि…


कञ्चनपुर, साउन १२ । कञ्चनपुरमा १२ कक्षा पढ्ने विद्यार्थी सुरज लेखकले शिक्षककै कारण आफूले आत्महत्याको बाटो रोजेको सुसाइड नोट फेला परेको छ । आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा मर्नुको कारण भन्दै उनले एक शिक्षकको नाम उल्लेख गरेको पाइएको हो । लिटिल बुद्ध एकेडेमीमा अध्ययनरत भीमदत्त नगरपालिका–३ भाँसीका १६ वर्षीय सुरज लेखकले मर्नुको कारण हरिलाल जोशी एलबिए प्लस टु कोअर्डिनेटर भनेर उल्लेख गरेको सुसाइड नोट फेला परेको छ ।

सुरजले हिजो शनिबार आफ्नै घरको कोठमा झुण्डिएर आत्महत्या गरेका थिए । सुरजको सुसाइड नोटमा नाम उल्लेख भएका लिटिल बुद्ध ऐकेडेमी प्लस टुका संयोजक हरिलाल जोशीले भने शुक्रबार बिहान विद्यालय समयमा साथीभाईसँग चुरोट खाइरहेको अवस्थामा थाहा पाएपछि सुरजसहित आशिस चन्द र मनिस विष्टलाई विद्यालयमा बोलाएर सम्झाई बुझाई गरेको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार विद्यालय संचालन भएका बेला होटेलमा बसेको थाहा पाएर, विद्यालयमा ल्याएर सम्झाई बुझाई मात्रै गरिएको र अर्का शिक्षकले थप्पड हानेका थिए । ‘दुर्गा दत्त अवस्थी सरले तीनै जना विद्यार्थीलाई दुई–दुई थप्पड हाने, मैले कागज बनाए,’ जोशीको भनाई छ ।

छोराले सुसाइड नोट लेखेर संसार छाडेपछि सुरजका बुबा गणेशले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शिक्षक जोशी विरुद्ध ‘आत्महत्या दुरुत्साहन’ सम्बन्धी किटानी जाहेरी दिनुभएको छ । जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापक गणेशले छोरालाई विद्यालयबाट तनाव दिएर आत्महत्या गर्न बाध्य पारिएको भन्दै शिक्षक जोशी विरुद्ध किटानी दिनुभएको हो ।

संयोजक जोशी बर्खास्त

बिद्यार्थीले आत्महत्या गरेपछि लिटिल बुद्ध एकेडेमीले प्लस टु संयोजक जोशीलाई आइतबार सेवाबाट हटाएको छ । प्रिन्सिपल श्याम सिह मौनीले विद्यार्थीले गरेको सुसाईट नोटमा शिक्षक जोशीको नाम उल्लेख भएकाले उनलाई सेवाबाट हटाएको बताउनु भयो ।