जनता टाइम्स

१३ श्रावण २०७६, सोमबार ०९:५०

नेकपाको सचिवालय बैठक बस्दै, स्कुल विभागको विवाद आजै टुंग्याउने


काठमाडौं, साउन १३

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । हिजो कार्यव्यस्थताले गर्दा बैठक आज अपरान्हसम्म सरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ३ बजेपछि बोलाइएको बैठकमा विशेषगरी स्कुल विभाग प्रमुखका विषयमा देखिएको विवादका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

सचिवालय बैठकले ३२ वटा केन्द्रीय विभागसहित जनसंगठनका इञ्चार्जहरुको बारेमा छलफल गर्ने बताइएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर भइरहेका छलफलले पनि पार्टी स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने अन्तिम सहमति लागेको छैन । यसैविच, पूर्व एमालेका नेताहरुविच पुन यसविषयमा छलफल भएको छ । छलफलमा यो विषयलाई अब लामो विवाद नबनाई आजको बैठकबाटै टुंगो लगाउने सहमति भएको नेताहरुले बताएका छन् । स्कुल विभागमा सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेलको दावी छ।

यसैबीच, अनुशासन आयोग, लेखा परीक्षण आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिस्ट मञ्चको भने टुंगो लागिसकेको छ । अनुशासन आयोगमा अमृत बोहोरा र लेखा परीक्षण आयोगमा डा।पुष्प कँडेल प्रस्तावित छन् भने निर्वाचन आयोगको अध्यक्षमा अमिक शेरचनको नाम प्रस्ताव गरिएको छ । त्यस्तै, सल्लाहकार परिषदको अध्यक्षमा केशव बडाल र जेष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई प्रस्तावित छन् । बडाल पूर्व एमाले हुन् भने प्रसाई पूर्व माओवादी हुन् ।