जनता टाइम्स

१४ श्रावण २०७६, मंगलवार ०८:४७

प्रदेश गृहमन्त्री कार्कीद्वारा ट्राफिक प्रहरीलाई ७७ लाख बढिको सामग्री हस्तान्तरण


विराटनगर, साउन १४

प्रदेश–१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले ट्राफिक प्रहरीलाई ७७ लाख बढिको सामग्री हस्तान्तरण गर्नुभएको छ । प्रविधिमैत्री सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि उहाले ७७ लाख नौ हजार रुपैयाँ बराबरको सामग्री प्रदेश प्रहरीलाई हस्तान्तरण गर्नुभएको हो ।

मन्त्री कार्कीले एक नं प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको छ । प्रदान गरिएको सामग्रीमा रु ४८ लाख १७ हजार बराबरको सात थान ¥याडर गन, रु २४ लाख ६३ हजारको २० थान ब्रेथ लाइजर र रु चार लाख नौ हजारको १०० थान ह्वील लक छन् ।

प्रदेशको ट्राफिक व्यवस्थापन र यातायात दुर्घटना नियन्त्रण गर्न उक्त सामग्री उपयोगी हुने विश्वास गरिएको छ । प्रदेश प्रहरी प्रमुख ज्ञवालीले ट्राफिक नियम उल्लङ्घन र मादक पदार्थ सेवन(मापसे) नियन्त्रणका लागि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी उपरीक्षक भीमबहादुर दाहाललाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।