काठमाडौं, ३ असोज । हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’ मार्फत अञ्जना बराईली डेब्यु गर्दै हुनुहुन्छ । मोडलिङ र म्युजिक भिडियोमा अभिनय गर्नुभएको अञ्जना यो फिल्ममा अडिसनमार्फत छानिनुभएको हो । उहाँ फिल्ममा प्रतिष्ठाको भूमिकामा हुनुहुन्छ । अञ्जनाले मदनकृष्ण श्रेष्ठकी छोरीको भूमिका निर्वाह गर्नुभएको हो ।
उहाँले अडिसनमा देखाएको अभिनयले नै ‘सेलेक्ट’ गरिएको कलाकारसँगै कार्यकारी निर्माता रहनुभएको रवीन्द्रसिंह बानियाँले बताउनुभयो । ‘हामीलाई चाहिएको जस्तै उहाँमा पायौं । अडिसनमा दिइएको फरक तीन भूमिकालाई उहाँले निभाउनुभएको दृश्यले हामीलाई प्रभाव छाड्यो । धेरैको अडिसन लिए पनि उहाँले भूमिका सुहाउँदो भएकाले सेलेक्ट गरेका हौँ,’ बानियाँले भन्नुभयो ।
उहाँले अडिसनमार्फत छानिएको अञ्जनाको काम फिल्ममा प्रशंसायोग्य रहेको बताउनुभयो । ‘दिग्गज कलाकारहरूसँग स्क्रिनमा देखिँदा उनीमा देखिएको कन्फिडेन्टले उनको भविष्य उज्ज्वल छ भने लागेको छ । उनले आफ्नो भूमिकालाई जीवन्त बनाएकी छिन्,’ उहाँले भन्नुभयो । राम्रो फिल्मको खोजीमा रहेकी अञ्जना पनि यो टिमसँग जोडिएर आउन पाउँदा खुसी हुनुहुन्छ ।
‘मैले केही फिल्ममा अडिसन पनि दिएकी थिएँ । एक फिल्ममा सेल्केट भएर केही समय प्रतीक्षा पनि गरें । तर त्यो फिल्म बनेन । पछि यसमा अडिसन दिएँ,’ उहाँले भन्नुभयो। मह जोडी र प्रदीप भट्टराईको निर्देशनमा काम गर्न पाउँदा उहाँको सिकाइ पनि भएको छ । ‘म यहाँका लागि नौलो मान्छे । मलाई रवीन्द्र दाइ र प्रदीप दाइले राम्रोसँग गाइड गर्नुभयो । अभिनयलाई प्रस्तुत गर्ने शैली सिकाउनु भयो,’ उहाँले भन्नुभयो ।
मह जोडीसँग स्क्रिन सेयर गर्न पाउँदा उत्साहित अञ्जनाले फिल्ममा मदनकृष्णको छोरीको भूमिका निर्वाह गर्नुभएको छ । ‘उहाँको छोरी बनेर काम गर्न पाउँदा ज्यादै खुसी छु । उहाँको माया र आशीर्वादलाई सिनमा समेत फिल्म गरें,’ उहाँले थप्नुभयो । महापुरुषमार्फत अञ्जनाझैँ अरुण क्षेत्री पनि डेब्यु गर्दै हुनुहुन्छ । उहाँले फिल्ममा हरिवंश आचार्यको छोराको भूमिका निर्वाह गर्नुभएको छ । उहाँको चरित्रको नाम विज्ञान हो ।
उहाँ फिल्ममा हरिवंशका कान्छा छोरा बन्नुभएको छ । उहाँ पनि फिल्ममा अडिसनमार्फत सेलेक्ट हुनुभएको हो । अडिसन भएको एक हप्तापछि उहाँलाई ‘सेलेक्ट’ भयौं भन्ने जानकारी आएको थियो । यद्यपि उहाँले अभिनय गरेको दोस्रो फिल्म ‘महापुरुष’ आउँदो ११ कात्तिक अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ ।
सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतको अभिनय छ ।
फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ । सोसल ड्रामा ‘महापुरुष’मा समाजले मान्छेलाई महापुरुष बनाउने स्थितिलाई व्यंग्य गरिने छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रैजात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसक्नुभएको छ । उहाँले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जित्नुभयो । शत्रुगतेबाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउँन लाग्नुभएको हो ।
उहाँ यसपटक यसअघिका फिल्मभन्दा झनै कन्फिडेन्ट हुनुहुन्छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हो भने निर्माता दिपेश खत्री हुनुहुन्छ । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रैजात्रा फिल्म निर्माण गरेको छ । कलाकारसमेत रहेका रवीन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन् । ‘सामाजिक कथावस्तुमा फिल्म बनाएका छौँ । आफ्नै मौलिक कथा र नाम महापुरुष राखेका छौँ । हामीले अघिल्लो गरेका कामहरू भन्दा यसपटक झनै माझिएका छौँ,’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्