जनता टाइम्स

१४ श्रावण २०७६, मंगलवार ११:३२

कलंकीमा पूर्वउपसचिवको छोरीलाई लक्षित गरी गोली प्रहार


काठमाडौं, साउन १४

पूर्वउपसचिव विष्णुप्रसाद शर्माकी छोरीलाई लक्षित गरी गोली प्रहार भएको छ । घरमै बसिरहेका बेला गएराति उनिमाथी गोली प्रहार भएको प्रहरीले जानकारी दिएको छ । यद्यपी गोली उनलाई भने नलागेको बताइएको छ ।

कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको उनको घर बाहिरबाट हानेको गोली कोठाको जालीबाट भित्र छिरेको भए पनि उनीमाथि भने नलागेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले शर्माकी १९ वर्षिय छोरीलाई लक्षित गरी गोली प्रहार भएको देखिएको बताउनु भयो । ‘तीनतले घरको दोस्रो तलामा १९ वर्षीया छोरी अध्ययन गरिरहेकी थिइन् । त्यहीबेला झ्यालको जालीबाट गोली पसेको देखिन्छ’, उहाले भन्नुभयो, ‘गोली नै प्रहार गर्ने नियतबाट भएको हो कि होइन अनुसन्धान हुँदैछ ।’

उनले कोठाबाट एक राउण्ड सानो गोली बरामद भएको छ । घटनाको परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ । एक प्रहरी अधिकारीले भने घटनामा इन्सास राइफलको गोली प्रयोग भएको बताएका छन् ।