जनता टाइम्स

१४ श्रावण २०७६, मंगलवार १२:०८

इन्टरपोलमा नोटिस निकालिएका डेभाजूका संचालक श्रेष्ठ पक्राउ


काठमाडौं, साउन १४

इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएका काठमाडौंको दरबारमार्गस्थित डेजाभू लाउन्जका अध्यक्ष मनोज श्रेष्ठ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । फरार रहेका श्रेष्ठ हङकङबाट नेपाल आउने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् ।

श्रेष्ठले डेजाभूको अध्यक्ष हुँदा कम्पनी मर्मत गर्न विश्वराम श्रेष्ठबाट दुई करोड ऋण लिएका थिए । उनले विश्वरामलाई डेभाजूको सेयर दिने आश्वासन दिएपनि नबनाएपछि उनले रकम फिर्ता मागेका थिए । विश्वरामले रकम फिर्ता मागेपछि श्रेष्ठले दुई करोडको चेक दिए पनि बैंकमा रकम थिएन । त्यसपछि मनोज फरार भएका थिए । प्रहरीका अनुसार श्रेष्ठविरुद्ध ०७५ पुस १३ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरको जाहेरी दर्ता भएको थियो ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार श्रेष्ठविरुद्ध काठमाडौं प्रहरी परिसर, टेकुको अनुरोधमा १५ माघ २०७५ मा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले डिफ्यूजन नोटिस जारी गरेको थियो । श्रेष्ठलाई इन्टरपोलको माइन्ड उपकरणको सहयोगमा पक्राउ गरिएको हो ।

उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।