एजेन्सी, ४ असोज । उत्तरी म्यानमारको एउटा विद्यालयमा सेनाको हेलिकप्टरबाट आएका सैनिकले गोली चलाएका छन् । युनिसेफले उक्त गोलीकाण्डमा ११ बालबालिकाको मृत्यु भएको र १५ भन्दा बढी बेपत्ता भएको बताएको छ । यो घटना गत शुक्रबारको हो ।
म्यानमारको सैन्य सरकारले आफ्नो लक्ष्य विद्यालयमा लुकेका विद्रोहीहरू रहेको बताएको छ। बीबीसीको बर्मी सेवाले यसअघि ६ बालबालिकाको मृत्यु भएको जनाएको थियो। यस आक्रमणमा सात र चौध वर्षका दुई बालकको मृत्यु भएको थियो ।
तीन बालिकाको पनि मृत्यु भएको छ । उनीहरु क्रमशः सात, नौ र एघार वर्षका थिए । यस हमलामा बुबासँग माछा मार्न गएका १३ वर्षीय बालकको पनि मृत्यु भएको छ । अधिकांश बालबालिकाको शव सेनाले लगेको थियो ।
अर्कोतर्फ, म्यानमारको सेनाले विद्यालयमा विद्रोहीहरू लुकेको सूचना प्राप्त भएको बताएको छ । सेनाले विद्रोहीहरू लेट याट कोन गाउँको एउटा विद्यालयमा लुकेर बसेको बताएको छ । यस विद्यालयमा किन्डरगार्टेनदेखि किशोरावस्थासम्मका बालबालिका पढ्छन् ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्विरहरूमा विद्यालय भवनमा गोलीका निशान र रगतका दागहरू देखिन्छन् ।













प्रतिक्रिया दिनुहोस्