जनता टाइम्स

१४ श्रावण २०७६, मंगलवार १४:३३

एकै बर्ष २५६ प्रहरीको जागिर चट : एसएसपीसहित १५ सय ४४ प्रहरीमाथि कार्वाही


काठमाडौं, साउन १४ । नेपाल प्रहरीका एसपीदेखि जवानसम्मका २ सय ५६ जना कर्मचारीको जागिर चट भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनभित्र बदमासी नियन्त्रणलाई कडाई गरेसँगै बदमासी गर्ने एसपीदेखि जवानसम्मले जागिर गुमाउनु परेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार एक वर्षमा भ्रष्टाचारसहितका गम्भीर गल्ती गर्ने २५६ प्रहरीले जागिर गुमाउने परेको हो । जागिर गुमाउनेमध्ये २४९ लाई सेवाबाट हटाइएको र सात जनालाई बर्खास्त गरिएको हो । यसरी सेवाबाट हटाइएकामा एक एसपी, दुई इन्स्पेक्टर, पाँच सइ, ११ असइ, २४ हवल्दार, एक सय ९५ जवान र ११ जना कार्यालय सहयोगी रहेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यस्तै, १/१ जना असइ र सइ, दुई हवल्दार, दुई जवान र एक कार्यालय सहयोगीलाई बर्खास्त गरिएको छ । सेवाबाट हटाइएकाले प्रहरीबाट पाउने पेन्सनलगायतका सुविधा पाउँछन् भने बर्खास्त हुनेहरूले सो सुबिधा पाउँदैनन । आर्थिक वर्ष ०७४/७५ मा दुई सय ८० प्रहरी यस्तो कारबाहीमा परेका थिए ।

सेवाबाट हटाइएका सबैभन्दा माथिल्ला अधिकारीमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट रहेका छन । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको आरोपमा सरकारले उनी र इन्स्पेक्टर जगदीश भट्टलाई सेवाबाट हटाएको हो । प्रहरी नियमावलीको दफा ११३(क) मा नैतिक पतन हुने काम गरे (मानव बेचबिखनलगायतका अपराध), भ्रष्टाचारमा दोषी ठहर भए, अन्य देशको स्थायी बसोवासको अनुमतिपत्र लिएको वा आवेदन दिएको पाइए र प्रहरीको विशेष अदालतबाट दोषी ठहर भएका प्रहरी बर्खास्त हुने व्यवस्था छ । उनीहरूले बर्खास्तपछि सञ्चय कोष र बिमाबाहेक कुनै सुविधा पाउँदैनन ।

त्यस्तै, पदीय जिम्मेवारीमा लापरबाही गरेमा, बारम्बार आचरण उल्लंघन गरेमा, ड्युटीमा मादक पदार्थ सेवन गरेमा, पटकपटक अनुशासनहीन काम गरेमा, राजनीतिमा भाग लिएमा, बिदा स्वीकृतविना ४५ दिनभन्दा लामो समय हाजिर नभएमा, फौजदारी कसुरमा दोषी ठहर भए सेवाबाट हटाउन सकिने नियमावलीमा उल्लेख छ । सेवाबाट हटाइएकाले उपदान, पेन्सनलगायतका सुविधा भने पाउँछन ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत आर्थिक वर्षमा एक हजार आठ सय प्रहरीमाथि विभागीय कारबाही भएको छ । बर्खास्त र नोकरीबाट हटाइएकाबाहेक एक हजार पाँच सय ४४ माथि अन्य कारबाही भएको हो । प्रहरीका विभागीय कारबाहीमा घटुवा, ग्रेड घटुवा, ग्रेड रोक्का, पदोन्नति रोक्का, नसियत, निलम्बनलगायत रहेका छन । विभागीय कारबाहीमा पर्नेमा दुई एसएसपी र तीन एसपी छन । त्यस्तै, दुई डिएसपी, १९ इन्स्पेक्टर, ७१ सइ, एक सय ३८ असइ, तीन सय ५९ हवल्दार, एक हजार एक सय ८३ जवान र २३ कार्यालय सहयोगी छन । धेरैमाथि नसियतको कारबाही भएको छ ।