जनता टाइम्स

११ आश्विन २०७९, मंगलवार १०:२४

जापानका पूर्व प्रधानमन्त्री आबेको निधनमा आज राजकीय श्रद्धाञ्जली सभा


 

काठमाडौं, ११ असोज । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा आज राजकीय श्रद्धाञ्जली सभा हुँदैछ । श्रद्धाञ्जली सभामा सहभागी हुन विश्वका विभिन्न देशका शीर्ष नेताहरु टोकियो पुगेका छन् ।

६७ वर्षीय आबे जापानमा सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्रीका रुपमा मानिनुहुन्छ । उहाँको गएको जुलाई ८ तारिखमा एक चुनावी र्‍याली भैरहेका बेला नारा शहरमा गोली हानी हत्या गरिएको थियो । आज हुन लागेको श्रद्धाञ्जली सभाका लागि झण्डै २० हजार सुरक्षाकर्मी तैनाथ गरिएको बीबीसीले जनाएको छ ।

पुलिसले गएको जुलाईमा नै आबेलाई प्रदान गरिएको सुरक्षामा त्रुटी भएको स्वीकार गरेको थियो ।यस पहिले सन् १९६७ मा एक पूर्व प्रधानमन्त्रीका लागि पनि जापानले राष्ट्रिय अन्त्येष्टिका लागि समारोह गरेको थियो । सत्तारुढ दल लिबरल डेमोक्रेटिकका प्रभावशाली नेताले देशप्रति दिएको योगदानको कदर गर्दै यो सम्मान दिन लागेको भने पनि विपक्षी दलहरुले राज्यको सम्पत्तिबाट समारोह गर्न नहुने भन्दै विमती राख्दै आएका छन् । उहाँको गएको असार २८ गते अन्त्येष्टि गरिएको थियो ।