जनता टाइम्स

१५ श्रावण २०७६, बुधबार १०:५८

११ वर्षीय बालिका बलात्कार गर्ने ६१ वर्षीय श्रेष्ठ र ४१ वर्षीय खत्री पक्राउ


परासी, साउन १५

११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महीनादेखि ती बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएको खुलेको छ । सोही प्रकृतिको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालले जानकारी दिनुभयो । पक्राउ परेका दुवैलाई जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फरार अभियुक्त १६ वर्षपछि पक्राउ

पश्चिम नवलपरासी प्रहरीले एक फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गर्न सफल भएको छ । कुटपिट गरी ज्यान मारेर विसं २०६० देखि फरार रहेका जिल्लाको सरावल गाउँपालिका–२ मनरीका ५२ वर्षीय नाथु चमारलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो ।

उनले सोही ठाउँ बस्ने ५५ वर्षीय रामलाल चमारलाई विसं २०६० भदौ १२ गते कुटपिट गरी हत्या गरेर फरार भएका थिए । पक्राउ परेका चमारलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिनुभयो ।