जनता टाइम्स

१५ श्रावण २०७६, बुधबार १३:४२

सोह्र बर्षमै छोरीको बिहे गर्न पाउनुपर्नै भन्दै आन्दोलनमा उत्रिए महिला


नेपालगञ्ज, साउन १५ । स्रोह बर्ष पुगेपछि विवाह गर्न पाउनुपर्ने माग गर्दै बाँकेमा मधेसी र मुस्लिम महिला आन्दोलित भएका छन । युवायुवती २० वर्ष पुगेपछि मात्र विवाह गर्न–गराउन पाउने कानुनी प्रावधान मधेसी र मुस्लिम समुदायविरुद्ध भएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन ।

उनीहरुले मंगलबार नेपालगन्ज उपमहानगरपालिकाअगाडि दुई घन्टा सडक अवरुद्ध बनाएका छन । छोरीको उमेर १६ वर्ष पूरा भएपछि बिहे गर्न पाउनुपर्ने माग गर्दै झन्डै तीन सय महिला नेपालगन्ज आएको आन्दोलनको नेतृत्वकर्ता रामदेव मिश्रले बताउनुभयो । उहाँले मधेसी र मुस्लिम समुदायका एक–दुई परिवारको मात्र समस्या नभई पूरै समुदायलाई कानुनले असर गरेको जिकिर गर्नुभयो । बाँकेका विभिन्न गाउँबाट आएका मधेसी र मुस्लिम महिलाले १६ वर्षको उमेरमा विवाह गर्न नपाउने गरी बनेको कानुनले ठूलो समस्या निम्त्याएको बताए ।

आन्दोलनकारीले उमेर बढी भएकी छोरीलाई केटाले विवाह गर्न नमान्ने भन्दै १६ बर्षमै बिवाह गर्न पाउनुपर्नै माग गरेका छन । खजुरा गाउँपालिका–५ रजनवाकी २२ वर्षीया शान्ति यादवले २० वर्ष पूरा भएपछि मात्र विवाह गर्न पाउने कानुनी व्यवस्थाले आफ्नो समुदायका छोराछोरीको विवाह गर्न समस्या हुने बताउनुभयो । आफ्नो विवाह नौ वर्षको उमेरमा भएको र १४ वर्षको उमेरमा घरमा गएको उहाँको बनाई थियो । नेपालगन्ज उपमहानगरपालिका–१९ फुटाहाकी ताजरुल बागवानले १६ वर्ष पूरा भएपछि छोरीको विवाह गर्न पाउने कानुन बनाउन माग गर्नुभयो । अहिले बनेको कानुनले छोरीको लालनपालन र विवाह गर्न समस्या हुने उहाँको भनाई छ । ‘मधेसी र मुस्लिम समुदायमा छोरीको विवाह सानै उमेरमा गर्ने परम्परा छ, उमेर बढी भएकी छोरीलाई केटाले विवाह गर्नै मान्दैनन,’ बागवानको भनाई थियो ।

सडक अवरुद्धसँगै उपमहानगरपालिका घेराउ गरेका महिलाहरुले कानुन परिमार्जन गर्नुपर्ने माग राखेर बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन । महिला टोेलीले कानुन सच्याउन मागसहितको सिफारिस गरिदिन नेपालगन्ज उपमहानगरपालिकासँग अनुरोध पनि गरेका छन । उनीहरूले उपमहानगरपालिकालाई लिखित पत्रसहित कानुन सच्याउन सिफारिस गरिदिन आग्रह गरेको कार्यकारी प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभयो ।