जनता टाइम्स

१७ आश्विन २०७९, सोमबार १८:४६

दसैँमा नृत्य देखाउन भारतीय सन्थाल समुदाय झापामा


झापा, १७ असोज । पूर्वी नाका काँकरभिट्टा र भद्रपुर नाकाबाट आज भारतका विभिन्न स्थानका सन्थाल समुदाय समूह बनाएर नेपाल आएका छन् । दसैँको अवसरमा बाजागाजासहित नेपालीहरूको घरदैलोमा सन्थाल नृत्य प्रस्तुत गर्दै दान दक्षिणा सङ्कलनका लागि उनीहरु नेपाल आएका हुन् । पश्चिम बङ्गालको नक्सलबाडी र बतासीबाट दुई सयभन्दा बढीको सङ्ख्यामा उनीहरु झापाको भद्रपुर, धुलाबारी, बिर्तामोड, शनिश्चरेलगायतका क्षेत्रमा नृत्य देखाउन आएको समूहका विशाल बेस्राले बताउनुभयो ।

‘वर्षौंदेखि दसैँको सप्तमीका दिनदेखि हाम्रा कला संस्कृति देखाउन नेपाल आउने गरेका छौँ’, उहाँले भन्नुभयो,‘नृत्य सन्थाल जातिको पुर्ख्यौली परम्परा हो । हाट बजार र भ्याएसम्म नेपालीको घरदैलोमै पुग्छौँ ।’

पन्ध्र देखि ५० वर्ष उमेर समूहका पुरुषहरू नेपाल आएको उहाँले बताउनुभयो । विभिन्न समूह बनाएर आएका उनीहरूमध्ये एक समूह बिर्तामोड, अर्को शनिश्चरे र भद्रपुरतिर बाँडिएको उहाँको भनाइ छ । उहाँले टीकाको दिनसम्म नेपाल बसेर नृत्य देखाउने उद्देश्य रहेको जानकारी दिनुभयो । रङ्गीचङ्गी पहिरन, कमिज गञ्जी, धोती, शिरमा मयुरको प्वाँख र काँसको फूल सिउरिएर आएका उनीहरुले सन्थाल गीतमा नृत्य गर्ने गरेको बताउनुभयो ।