जनता टाइम्स

१५ श्रावण २०७६, बुधबार १७:१७

योगेश भट्टराई मन्त्री बनेपछि कांग्रेस नेता गगन थापामा छायो यस्तो उमंग


काठमाडौं, साउन १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराई मन्त्री बनेपछि युवाहरुमा नयाँ आशाको सञ्चार पैदा भएको छ । सत्तारुढ दलका युवा नेतादेखि कार्यकर्तासम्मले प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्तै सही र आवश्यक निर्णय भन्दै बधाई दिएका छन भने बिपक्षी दलका युवा नेतादेखि कार्यकर्तामा समेत नयाँ उत्साह सञ्चार भएको देखिएको छ ।

यस्तै निकै उत्साहित हुनेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापा देखिनुभएको छ । कांग्रेस नेता थापाले निकै भावुक शब्दसहित नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भट्टराईलाई बधाई दिनुभएको छ । उहाँले योगेश भट्टराईले पाएको जिम्मेवारी र पूरा गर्ने कामबाट सिंगो युवा पुस्ताको भविश्य जोडिएको बताउनु भएको छ ।

‘योगेश भट्टराई दाइ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस । मन्त्रीको रूपमा तपाईंको सफलता तपाईं र तपाईंको पार्टीसंग मात्र होइन, हाम्रो पुस्ताको राजनीतिकर्मीहरूप्रतिको आशा र विश्वाससंग जोडिएको छ । मुरी मुरी शुभकामना,’ मन्त्रीका रुपमा भट्टराईले पद तथा गोपनीयताको शपथलगत्तै कांग्रेस नेता थापाले लेख्नुभएको छ ।