जनता टाइम्स

२० आश्विन २०७९, बिहीबार १०:४६

मेक्सिकोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा सहरका मेयरसहित १८ जनाको मृत्यु


मेक्सिको, २० असोज । मेक्सिकोको दक्षिणपश्चिममा हिजो दिउँसो बन्दुकधारीले गरेको आक्रमणमा सान मिगुएल टोटोलापेन सहरका मेयर कोनरेडो मिगुएल अल्मेडासहित १८ जनाको मृत्यु भएको छ । मेयर अल्मेडाका बुबा तथा पूर्व मेयर क्वान मेन्डोजा एकोस्टाको पनि गोली प्रहारमा मृत्यु भएको छ ।

स्थानीय प्रहरीका अनुसार हिजो दिउँसो २ बजेतिर बन्दुकधारीले नगरको टाउन हलमा प्रवेश गरी गोली चलाउँदा मेयरसहित काउन्सिल सदस्य र प्रहरी अधिकारीको मृत्यु भएको हो ।

केही रिपोर्टहरूका अनुसार टाउन हलमा हमला गर्नु अघि मेयरका बुबालाई आक्रमणकारीहरूले उहाँको घरमा नै मारेका थिए । यससँगै केही रिपोर्टका अनुसार घटना हुनुअघि सुरक्षाकर्मी भित्र पस्न नसकोस् भनेर सहर जोड्ने सडकमा ठूला सवारीसाधन पार्किङ गरिएको थियो । मेयर कोनरेडो मेन्डोजाको पार्टी पीआरडीले आक्रमणको निन्दा गर्दै यसलाई कायरतापूर्ण हत्या भनेको छ ।