जनता टाइम्स

१६ श्रावण २०७६, बिहीबार ०८:१५

सामाजिक सञ्जालले गर्दा हिंसा बढ्यो – नेपाल प्रहरी


काठमाडौं, साउन १६ । नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग हुँदा हिंसाका घटना बढेको जनाएको छ ।

घरपरिवारले बालबालिकाको गतिविधिमा निगरानी गरी सामाजिक सञ्जाललाई सही कामका लागि प्रयोग गर्न सिकाउनसके हिंसाका घटना न्यूनिकरण गर्न सहयोग पुग्ने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुधवार काठमाडौँमा आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले समाजमा लैैङ्गिक हिंसा हुनुका प्रमुख कारण सामाजिक सञ्जाल रहेको दाबी गर्नुभयो ।

सबै मिलेर अगाडि बढ्नसके शान्त, सुरक्षित तथा सभ्य समाज निर्माण गर्न सकिने चर्चा गर्दै उहाँले समाजमा कुनै पनि शङ्कास्पद गतिविधि भएमा तत्काल १०० नम्बरमा कल गर्ने बानी बसाल्नसमेत अनुरोध गर्नुभयो ।

नेपाल प्रहरीले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न गत वर्षको कार्तिक देखि समुदाय–प्रहरी साझेदारी अभियान शुरु गरेको थियो । उक्त अभियानका कारण समुदाय र प्रहरीको सम्बन्ध प्रगाढ बन्दै गएको र आपराधिक घटना बाहिर ल्याउन सहयोग पुगेको प्रहरीको निष्कर्ष छ ।

प्रहरीले अहिले विद्यालयदेखि विभिन्न जिल्लामा पालिका समिति निर्माण गरेर गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।