जनता टाइम्स

१६ श्रावण २०७६, बिहीबार ०८:३५

युएस–बङ्गलाका विरुद्ध मुद्दा दायर, २ अर्ब १० करोड रुपैयाँ क्षतिपूर्ति रकम दाबी


 

काठमाडौं, साउन १६ । सन् २०१८ मार्च १२ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको युएस–बांग्ला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका ७ जना एमबिबिएस विद्यार्थीका हकवालाले क्षतिपूर्ति मुद्दा दायर गरेका छन् ।

बुधबार जिल्ला अदालत काठमाडौंमा उनीहरूका हकवाला तथा आमाबुबाले क्षतिपूर्ति मुद्दा दायर गरेका हुन् । बुधबार जिल्ला अदालतमा युएस–बङ्गला विरुद्ध २ अर्ब १० करोड रुपैयाँ (१९ मिलियन ९० हजार डलर)भन्दा बढी क्षतिपूर्ति रकम दाबी गरी मुद्दा दायर भएको हो।
दुर्घटना भएको १६ महिना भइसक्दा पनि कम्पनीका तर्फबाट अन्तर्रा्ष्ट्रिय कानुनअनुसार मागदाबी गरिएको क्षतिपूर्ति नपाएको भन्दै पीडितका तर्फबाट ७ थान मुद्दा दायर भएको हो। उनीहरूले निवेदनमा कम्पनीले लामो समयसम्म क्षतिपूर्ति प्रदान गर्न अस्वीकार गरेकाले बाध्य भई अदालत आउन परेको उनीहरुको भनाइ छ ।

उक्त दुर्घटनामा मृत्यु भएका एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी धामी, सञ्जय महर्जन र श्रेया झाका आमाबाबुले मुद्दा दायर गरेका हुन् । सो सम्बन्धी जाँचबुझको लागि नेपाल सरकारले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा आयोग गठन गरेको थियो । मन्ट्रियल महासन्धीको धारा १७ को व्यवस्था र वार्सा महासन्धीको धारा २५ को व्यवस्था अनुसार हेलचेक्र्याइँबाट भएको दुर्घटनामा वायुयान सञ्चालकले असीमित दायित्व बहन गर्नुपर्ने व्यवस्था रहेको छ ।